भू–माफियाको विगविगी, कस्ले गर्दैछ अध्यक्षको हस्ताक्षर देखि लेटरप्याड, स्टाम सबै किर्ते ?

भू–माफियाको विगविगी, कस्ले गर्दैछ अध्यक्षको हस्ताक्षर देखि लेटरप्याड, स्टाम सबै किर्ते ?

भिमराज अधिकारी, पथरी
पछिल्लो समय भू–माफियाको विगविगी बढेको छ । वडा अध्यक्षको हस्ताक्षर, वडाको लेटरप्याड, स्टाम र मालपोत रसिद समेत किर्ते गरेको फेला परेको छ ।

मोरङ पथरीशनिश्चरे वडा नं. ४ का वडाध्यक्ष लोकनाथ न्यौपाने (लोककिरण) को हस्ताक्षर देखि वडाको लेटरप्याड, स्टाम र मालपोत रसिद सबै किर्ते बनाएको फेला परेको हो । यो सबै कागजात कस्ले किर्ते गर्यो भन्ने कुरा ६ महिना वित्न लाग्दा समेत अझै पत्तो लाग्न सकेको छैन् । यस विषयमा वडाध्यक्ष न्यौपानेले आफुले थाहा पाउनासाथ इलाका प्रहरी कार्यालय पथरीमा लिखित उजुरी दिएपनि आवश्यक छानविन र कार्वाही नभएको बताएका छन् ।

माफियाको समुहले २०७९ पौष २४ गते वडाको किर्ते लेटरप्याड बनाएर चारकिल्ला प्रमाणित गरी सिफारिस लिएका छन् । सिफारिस अनुसार साविक बयरवन ९ औ को हाल पथरीशनिश्चरे ४ मा पर्ने हरिभत्त खड्काको नाममा रहेको कित्ता नं. ४५ को १ विगाह १५ कठ्ठा ७ धुर (१–१५–७) जग्गाको पूर्व र पश्चिममा बाटो, उत्तर कि.न. ४४ र दक्षिणमा ५२ रहेको भनि चारकिल्ला सिफारिस बनाएको देखिन्छ । तर हरिभक्त खड्का वडा नं. ४ का बासिन्दा नभएको न्यौपानेले बताए । सिफारिससाथ फेला परेको नागरिकताको प्रतिलिपि अनुसार हरिभक्त खड्काको ठेगाना झापाको गौरादह रहेको देखिन्छ । नागरिकतामा उल्लेख भएको जन्म मिति हेर्दा खड्का ८८ वर्ष पुगेका छन् ।

सिफारिस लिनका लागि जग्गाको मालपोत अनिवार्य तिनुपर्ने हुन्छ । कागजात किर्ते गर्ने क्रममा मालपोत रसिद समेत किर्ते बनाएको पाइएको छ । मिति २०७९ पौष १४ गते पथरीशनिश्चरे नगरपालिकामा १५ हजार २४२ रुपैँया मालपोत तिरेको रसिद फेला परेको छ तर सो रसिदको संकेत नम्बर अनुसार खोज्दैजाँदा वास्तविक रसिद उर्लाबारीका योगेन्द्र कटुवालको नाममा रहेको देखिन्छ । योगेन्द्र कटुवालको रसिदमा नाम र जग्गाको विवरण मात्रै परिवर्तन गरी कागजात किर्ते गरेर आवश्यक परेको ठाउँमा पेस गर्ने गरेको देखिन्छ ।

यस विषयमा अध्यक्ष न्यौपानेले २०७९ चैत्र २६ गते इलाका प्रहरी कार्यालय पथरीमा उजुरी दिएका थिए तर इलाकाले यस विषयमा गम्भिर रुपमा लिएर छानविन नगरेको बुझिएको छ । पहिला दिएको उजुरीमा आवश्यक पर्ने विस्तृत विवरण नभएपछि पूनः योगेन्द्र कटुवालका नाममा किटानी जाहेरी दिएको न्यौपानेले जानकारी दिए । किर्ते गरेको कागजात कुन बैंकमा वा कार्यालयमा पेश गरिएको छ भन्ने यकिन नभएको न्यौपानेको भनाइ छ । दोहोरो स्वामित्वको भएको जग्गा ज्यान गएपनि सिफारिस नगर्ने ढ्वाङ पिटिरहेका न्यौपानेले किर्ते कागजात कहाँ पेश भएको छ भनेर अहिलेसम्म चासो दिएका छैनन् । सो जग्गामा हाल कसको भोगचलन छ भन्ने समेत एकिन नभएको बताउने अध्यक्षले वडाको लेटरप्याड, स्टाम, मालपोत रसिद र आफ्नै हस्ताक्षर किर्ते गर्दा पनि गम्भिर रुपमा नलिएको पाइएको हो ।

योगेन्द्र कटुवाल पथरीशनिश्चरे ५ को भोटेघुम्तीमा रहेको २ विगाह ११ कठ्ठा ११ धुर जग्गाको अबैधानिक तवरबाट पूर्जा निकाल्ने मध्येका एक हुन् । अहिले किर्ते गरिएको सक्कल रसिद त्यही वडा नं. ५ को साविक मधुमल्ला ६ञ को ४८ र ७७ को २ विगाह ११ कठ्ठा ११ धुर जग्गाको हो । भेटेघुम्तीमा ३३ घरपरिवारलाई वडाले सर्जमिन गरेर २०३५/३६ सालदेखि स्थाई बसोबास गरिरहेको भनेर प्रमाणित गरिदिएको छ तर सोही जग्गाको पूर्जा प्राप्तीका लागि २०७९ पौष १८ गते योगेन्द्र कटुवाल र अम्बिका बोहोरा क्षेत्रीलाई सिफारिस दिएको थियो ।

सम्बन्धित कागजहरु


यो पनि पढ्नुहोस्

भू–माफियाहरू सलबलाउदै, वडाध्यक्षले बेचे सिंगो गाउँ

सम्बन्धित खवर