वाल्मीकि स्कुलमा दशैँको शुभकामना आदानप्रदान

वाल्मीकि स्कुलमा दशैँको शुभकामना आदानप्रदान
मोरङ‚ पथरीशनिश्‍चरे १ मा रहेको वाल्मीकि माध्यमिक विद्यालयमा नेपालीहरूको महान् चाड बडादशैँ, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा शुभकामना आदानप्रदान तथा बृहत् सहभोज कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै नगरप्रमुख मोहनप्रसाद तुम्बापोले चाडपर्वहरूले समाजमा आपसी सद्भाव, एकता र भ्रातृत्वको भावना अभिवृद्धि गर्ने बताउनुभयो। संस्कृति र परम्परालाई जगेर्ना गर्दै सबै नेपाली मिलेर आपसी खुसी साटासाट गरी चाडपर्व मनाउनुपर्नेमा उहाँले विशेष जोड दिनुभयो।
त्यसैगरी कार्यक्रममा मन्तव्य राख्दै विद्यालयका संस्थापक केदार खनालले संस्कारयुक्त शिक्षासँगै सामाजिक तथा सांस्कृतिक मूल्यमान्यतालाई आत्मसात् गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। साथै, नगर शिक्षा शाखा प्रमुख नविन खुलालले विद्यालयले चाडपर्वको अवसरमा आयोजना गरेको यस किसिमको रचनात्मक भेटघाटले सकारात्मक सन्देश प्रवाह गरेको बताउँदै सम्पूर्णमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभयो।
शुभकामना आदानप्रदान पश्चात आयोजित सहभोज कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा आवद्ध लब्धप्रतिष्ठित व्यक्तित्वहरू, शिक्षासेवी, बुद्धिजीवी, अभिभावक, शिक्षक तथा कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले एक-आपसमा पर्वको शुभकामना साटासाट गर्दै सौहार्दपूर्ण वातावरणमा कार्यक्रम सम्पन्न गरेका थिए।

सम्बन्धित खवर