पथरी, मोरङ
मोरङको पथरीशनिश्चरे १ मा अवस्थित अग्रणी शैक्षिक संस्था एक्सपर्ट लर्निङ हब (Expert Learning Hub) ले आफ्ना विद्यार्थी, शिक्षक तथा सञ्चालकहरूको सहभागितामा बडादसैँको भव्य शुभकामना आदानप्रदान तथा टीका-जमरा कार्यक्रम सम्पन्न गरेको छ।
विशेषगरी सन्ध्याकालीन समयमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रममा संस्थाका सञ्चालक तथा शिक्षकहरूले विद्यार्थीहरूलाई विजयादशमीको प्रसादस्वरूप टीका, जमरा र आर्शिवाद प्रदान गरेका थिए। दसैँको रमझमका बीच आयोजित उक्त कार्यक्रममा सहभागी विद्यार्थी र शिक्षकहरूले एक-आपसमा दसैँ, तिहार तथा छठ पर्वको शुभकामना साटासाट गरेका थिए।
कार्यक्रममा बोल्दै संस्थाका सञ्चालकहरूले विद्यार्थीहरूको उज्ज्वल भविष्य र सफलताको कामना गर्दै चाडपर्वहरूले विद्यार्थी र शिक्षकबीचको सम्बन्धलाई थप आत्मीय र बलियो बनाउने विश्वास व्यक्त गरे।
विगत २ वर्षदेखि पथरीशनिश्चरेमा गुणस्तरीय सेवा प्रदान गर्दै आएको एक्सपर्ट लर्निङ हबले ट्युसन, कोरियन भाषा, कम्प्युटरलगायतका विभिन्न शैक्षिक तथा व्यावसायिक कक्षाहरू सफलतापूर्वक सञ्चालन गरिरहेको छ। छोटो समयमै यस क्षेत्रका विद्यार्थी र अभिभावकको रोजाइ बन्न सफल यस हबले व्यावहारिक र प्रविधिमैत्री सिकाइमा जोड दिँदै आएको छ।
टीका-जमरा ग्रहण गरेसँगै विद्यार्थी र शिक्षकहरूले एकापसमा शुभकामना साटासाट गर्दै हर्षोल्लासका साथ यो वर्षको दसैँ मनाएका छन्।







