भू–माफियाहरू सलबलाउदै, वडाध्यक्षले बेचे सिंगो गाउँ

भू–माफियाहरू सलबलाउदै, वडाध्यक्षले बेचे सिंगो गाउँ

भीमराज अधिकारी, पथरी
पछिल्लो समय भू–माफियाहरू सलबलाउन थालेको पाइएको छ । भू–माफियाहरूसंगको मिलेमत्तोमा वडाध्यक्षले सिंगो गाउँ नै उनिहरूका नाममा पास गरिदिएपछि यसको रहस्य खुलेको हो । अध्यक्षले माफियासंग मिलेर गाउँ नै बेचेको भन्दै ३६ घरपरिवारले नगपालिकामा निवेदन दिएका छन् ।

मोरङ पथरी शनिश्चरे ५ भोटेघुम्तीको सिंगो गाउँ नै वडाध्यक्ष चेतेन्द्र खड्का (चेतन) ले माफियालाई मोटो रकममा सौदावाजी गरेको स्थानीयले बताए । वडामा बसोबास नै नगरेका मान्छेलाई वडाका स्थाइ बासिन्दा भनेर एउटा गाउँ नै २ व्याक्तिका नाममा पूर्जा प्राप्तीका लागि खड्काले सिफारिस गरे पछि माफियाहरूले पूर्जा नै प्राप्त गरेको स्वयम् खड्का स्वीकार्छन् ।

२०५३ सालमा योगेन्द्र कटुवाल र अम्बिका बोहोरा क्षेत्रीले सो गाउँमा पर्ने ६ ञ को कित्ता नं. ४८ को २ बिगाहा ६ कट्ठा १ धुर र कित्ता नं. ७७ को ५ कट्ठा १० धुर गरी जम्मा २ बिगाह ११ कट्ठा ११ धुर जग्गाको मालपोत कार्यालय बेलाबारीमा श्रेष्ता कायम गराएका थिए । सोही श्रेष्ताको दर्ता प्रयोजनका लागि मात्रै भनेर मालपोत कार्यालय बेलबारीबाट २०७४ सालमा श्रेष्ताको उतार कपी लिएको पाइएको छ ।

सोही उतार कपीलाई आधार बनाएर कटुवाल र क्षेत्रीले २०७९ पौष १४ गते पथरी शनिश्चरे नगरपालिका मार्फत सो जग्गाको १५ हजार २५२ रुपैया मालपोत तिरेको देखिएको छ । मालपोत तिर्दा उनिहरूले पथरी शनिश्चरे वडा नं. ७ मा पर्ने जग्गा भनेर मालपोत तिरेका छन् । यसको अर्थ उनिहरूलाई सो जग्गा कहाँ पर्छ भन्ने समेत यकिन नभएको बुझिन्छ । मालपोत तिरेर उनिहरू वडा नं. ७ मा सुरुमा सिफारिसका लागि पुगेका थिए तर वडा नं. ७ ले सिफारिस नदिएपछि वडा नं. ५ मा पुगेर सोही जग्गाको जग्गा धनिपूर्जा हराएकाले धनिपूर्जा प्रतिलिपी सिफारिस पाउँ भनि निबेदन दिएका थिए ।

निवेदनमा जग्गाको कित्ता नम्बर बाहेक कति जग्गा हो भन्ने समेत खुलेको छैन् । वडा नं. ७ भनेर तिरेको मालपोत रसिद, श्रेष्ता मात्रै कायम भएको भनेर दिएको निस्साका आधारमा वडाध्यक्षले जानाजान उनिहरूलाई धनिपूर्जाको प्रतिलिपी दिन मालपोत कार्यालय बेलबारीलाई २०७९ पौष १७ गते सिफारिस गरेका छन् । यति मात्रै हैन अध्यक्ष खड्काले उनिहरूको फोटो टाँस गरी प्रमाणित गरेर उर्लाबारीका मान्छेलाई पथरी शनिश्चरे वडा नं. ५ बस्ने भनेर सिफारिस गरिदिएका छन् ।

कटुवाल र क्षेत्रीले श्रेष्ता कायम गराउँदा देखि हालसम्म त्यहाँ उनिहरूको उपस्थिती छैन्  ।  सो जग्गा २०३५/०३६ सालमा ढाँलफाँड गरेर हाल बसोबास गरिरहेका स्थानीय बासीको भोगचलन रहदैँ आएको पिडित ईश्वर बहादुर थापाले बताए ।

पटक पटक जग्गाको पूर्जा निकाल्ने दाउमा रहेका माफियाको गिरोहले निर्वाचन आउदै पिच्छे मान्छे प्रयोग गर्ने गरेका छन् । यो जग्गाको पूर्जाका लागि यसअघि पनि वडामा पटक पटक धाइरहेका थिए तर आफुले सिफारिस नगरेको निवर्तमान वडाध्यक्ष जोग बहादुर धिमालले बताए । आफुलाई पटक पटक मोटो रकमको लोभ देखाए पनि आफुले सिफारिस नगरेको धिमालको भनाइ छ ।

अघिल्लो कार्यकालमा वडा सदस्य रहेका खड्का अहिले वडाध्यक्ष छन् । उनको दोस्रो कार्यकालमा भोगचलन गर्नेलाई पूर्जा वितरण गर्ने र जनताको मन जित्ने सुनौलो अवसर थियो तर खड्काले माफियाको चुंगुलमा परेर मोटो रकममा सिंगो गाउँ नै सुम्पिएको पिडित धन बहादुर मगरले बताए ।

अध्यक्ष खड्काले भने यस विषयमा आफुलाई कुनै प्रलोभनमा पारेको वा सौदावाजी नगरेको बताएका छन् । आफुले अन्जानमा सिफारिस गरेको र आफ्नो वडामा यस्तो प्रकृतिको जग्गा होला भनेर समेत थाहा नभएको बताए । पूर्जा प्राप्त गरेपछि सोही व्याक्तिहरूले जग्गा बैंकमा राख्नका लागि आवश्यक पर्ने घरबाटो सिफारिस दिए २ लाख रुपैँया दिने प्रलोभन देखाएको तर घरबाटो सिफारिस भने नगरेको बताए ।
सो जग्गा तत्काल रोक्का गर्नका लागि नगरपालिकाले सिफारिस गरेपछि स्थानीय र अध्यक्ष खड्का सहित मालपोत कार्यालय बेलबारी पुगेर जग्गा रोक्का गरेको पिडित गोकुल राईले बताए ।

कागजी रुपमा हेर्ने भएकाले वडाबाट समेत पूर्जाका लागि सिफारिस आएपछि पूर्जा दिन बाध्य भएको मालपोत कार्यालय बेलबारीले जनाएको छ । २०७४ सालमा श्रेष्ताको उतार कपी पठाएको विषयमा भने मालपोतमा कुनै रेकर्ड छैन् ।

सम्बन्धित खवर