पथरी, मोरङ
पथरी जेसीजको आयोजनामा जारी ‘पथरी जेसीज सप्ताह’ अन्तर्गत दोस्रो दिन ‘दीपेन्द्र स्मृति साहित्यिक साँझ’ भव्य रूपमा आयोजना भएको छ।
शनिबार साँझ आयोजित कार्यक्रममा विभिन्न चर्चित तथा स्थानीय स्रष्टाहरूको विशेष साहित्यिक प्रस्तुति रहेको थियो । जसमा धनकुटे कान्छा, विवश बलिभद्र, सुन्दर कुरूप, कृष्ण काश्यप, राजकुमार सुब्बा, मुना आत्रेय, उत्तम तुम्सालगायतका स्रष्टाहरूका साथै स्थानीय अग्रज साहित्यकारहरूको समेत प्रस्तुति रहेको थियो । कार्यक्रमको प्रमुख अथिति रास्वपा नेता कमल कार्की थिए। कार्यक्रममा नेपाल जेसिज वर्ष २०२० का राष्ट्रिय अध्यक्ष अशोक शङ्कर, पथरी जेसिजका पूर्व अध्यक्ष तथा समाजका अगुवा साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संयोजन जेसी रीता कुलुङ र सह-संयोजन जेसी संगीता राईले गर्नुभएको थियो । युवा नेतृत्व तथा व्यक्तित्व विकासमा क्रियाशील जेसीजले समाजमा साहित्य र कलाको प्रवर्द्धन गर्दै नगरका लेखक तथा खोजकर्ता दीपेन्द्र तिम्सिनाको जन्मदिनको अवसर पारेर यो कार्यक्रम आयोजना गरेको हो । तिम्सिनाको गत फागुनमा अकस्मात निधन भएको थियो । पथरी जेसिज वर्ष २०१५ का अध्यक्ष तथा पथरीका स्थायी बासिन्दा तिम्सिनाले दर्जन बढी पुस्तक प्रकाशन गरिसकेका थिए ।







