पोखरा / कास्कीको तालवाराही माध्यमिक विद्यालयका प्रधानाध्यापक ताराप्रसाद पोखरेलको परिचय अब कुशल प्रशासक र शिक्षकमा मात्र सीमित रहेन; उहाँको प्राज्ञिक उचाइमा अर्को एउटा सुनौलो अध्याय थपिएको छ। ‘आधारभूत तहका मगर मातृभाषी विद्यार्थीको नेपाली भाषा सिकाइ’ विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि (PhD) उपाधि हासिल गर्दै उहाँले आफ्नो लामो प्राज्ञिक साधनालाई विशिष्ट उचाइ दिनुभएको छ।
कीर्तिपुरस्थित त्रिवि शिक्षाशास्त्र सङ्काय, डिनकाे कार्यालय (ग्राजुएट स्कुल अफ एजुकेसन)मा मड्गलबार आयोजित अन्तिम मौखिक परीक्षामा शोध रक्षा गर्दै उहाँले यो उपाधि प्राप्त गर्नुभएको हो। शिक्षाशास्त्र सङ्कायका डिन प्रा.डा. वेदराज आचार्य, शोधनिर्देशक प्रा.डा. केशवराज पोखरेलसहित अनुसन्धान समितिका पदाधिकारीको गरिमामय उपस्थितिमा आयोजित उक्त समारोहमा उहाँलाई बधाई ज्ञापन गर्दै सफलताको शुभकामना व्यक्त गरियो।
गुणात्मक विधि र मैदानको गहिरो अध्ययन
सङ्ख्यात्मक तथ्याङ्कभन्दा माथि उठेर विषयवस्तुको मर्म, सांस्कृतिक परिवेश र सिकारुका जीवन्त अनुभूतिलाई नजिकबाट नियाल्न पोखरेलले आफ्नो शोधमा गुणात्मक अनुसन्धान विधिको प्रयोग गर्नुभएको छ। यस विधिअन्तर्गत उहाँले रूपन्देहीको मगर बस्तीमा रहेको र मगर भाषामै पठनपाठन हुने विद्यालयमा पुगेर प्रत्यक्ष अवलोकन, अन्तर्वार्ता र सांस्कृतिक अन्तरक्रियामार्फत गहन अध्ययन गर्नुभयो। सिद्धान्तमा मात्र सीमित नरही फिल्डमै पुगेर मगर मातृभाषी बालबालिकाको सिकाइ परिवेश र सांस्कृतिक यथार्थलाई गुणात्मक दृष्टिकोणबाट विश्लेषण गर्नु उहाँको शोधको मुख्य सबल पक्ष हो।
सङ्घर्ष, साधना र बहुआयामिक व्यक्तित्व
पाल्पाको सुन्दर गाउँ रैनादेवी छहरा–२, सोमादीमा जन्मिनुभएका पोखरेलको परिचय बहुआयामिक छ। केही समय प्रहरी सेवाको अनुशासन र कर्तव्यनिष्ठा अनुभव गर्नुभएका पोखरेलले लामो समय सञ्चार क्षेत्रमा पनि कलम चलाउनुभयो। ‘समाधान दैनिक’ मा लामो समय पत्रकारिता गर्नुभएका उहाँ नेपाल पत्रकार महासङ्घ कास्कीका पूर्व सदस्य तथा पाल्पाली समाज पोखराका पूर्व अध्यक्षसमेत हुनुहुन्छ।
पत्रकारिता र शिक्षणसँगै साहित्यको क्षेत्रमा पनि उहाँको योगदान उत्तिकै अनुकरणीय छ। गीताञ्जली साहित्य परिवारमा आबद्ध उहाँको ‘अभिशप्त वर्तमान’ कविता कृति प्रकाशित भइसकेको छ भने उहाँले ‘माध्यमिक नेपाली व्याकरण’ र ‘निम्न माध्यमिक नेपाली व्याकरण’ पुस्तकहरूसमेत रचना गर्नुभएको छ। देशका विभिन्न पत्रपत्रिकामा उहाँका लेख, रचना र समालोचनाहरू निरन्तर प्रकाशित हुँदै आएका छन्।
बाल्यकालको कौतूहलदेखि प्राज्ञिक अनुसन्धानसम्म
बाल्यकालमा आफ्नै गाउँघरमा देखेको मगर समुदायको परिवेश नै उहाँको यस प्राज्ञिक अनुसन्धानको मुख्य प्रेरणा बन्यो ।
“आफ्नै गाउँमा मगर समुदायको बाक्लो बसोबास थियो । सानैदेखि उहाँहरूको संस्कृति, भाषा र सिकाइ प्रक्रियाप्रति ममा गहिरो कौतूहल र अध्ययन गर्ने चाहना थियो,” उपाधि प्राप्तिपछि उत्साह व्यक्त गर्दै पोखरेलले भन्नुभयो, “त्यसैले विद्यावारिधिका लागि पनि मैले यही मौलिक र व्यावहारिक विषय छनोट गरेँ ।”
मगर विद्यार्थीको मातृभाषा र संस्कृतिलाई नेपाली भाषा सिकाइको आधार बनाउन सके सिकाइ थप प्रभावकारी हुने उहाँको निष्कर्ष छ। उहाँ थप्नुहुन्छ, “मगर समुदायको संस्कृति, भाषा र मौलिक सिकाइ शैलीलाई नेपाली भाषा शिक्षणमा जोड्न सकियो भने यसले मगर संस्कृतिको संरक्षण त गर्छ नै साथै नेपाली भाषाको समग्र उन्नयन र विकासमा पनि ठूलो योगदान पुर्याउँछ ।”
विद्यालयको कुशल नेतृत्व, साहित्यिक सिर्जनाशीलता र गुणात्मक प्राज्ञिक अनुसन्धानलाई एकैसाथ अघि बढाएर उहाँले शैक्षिक क्षेत्रमा एउटा प्रेरक उदाहरण पेस गर्नुभएको छ।







