भू.पू. सैनिक स्कुलमा भव्य रूपमा दशैँको शुभकामना आदानप्रदान

भू.पू. सैनिक स्कुलमा भव्य रूपमा दशैँको शुभकामना आदानप्रदान
मोरङ‚ नेपालीहरूको महान् चाड बडादशैँको अवसरमा  पथरी शनिश्‍चरे १ मा रहेको भू.पू. सैनिक अङ्ग्रेजी विद्यालयमा विद्यार्थी, शिक्षक तथा सञ्चालकहरू बीच भव्य रूपमा दशैँको शुभकामना आदानप्रदान, टीका-जमरा तथा सहभोज कार्यक्रम सम्पन्न भएको छ।
विद्यालय परिसरमा आयोजित विशेष समारोहमा विद्यार्थी, शिक्षक-शिक्षिका तथा सञ्चालक समितिका पदाधिकारीहरूले एक-आपसमा बडादशैँ, तिहार तथा छठ पर्वको हार्दिक शुभकामना आदानप्रदान गरे। कार्यक्रमको मुख्य आकर्षणको रूपमा विद्यार्थीहरूलाई विजयादशमीको प्रसादस्वरूप टीका र जमरा लगाइदिनुका साथै दक्षिणा समेत प्रदान गरिएको थियो।
त्यसैगरी, विद्यालयका सञ्चालकहरू तथा ज्येष्ठ अग्रजहरूबाट शिक्षक-शिक्षिका तथा कर्मचारीहरूलाई पनि टीका, जमरा र आशिर्वाद प्रदान गरियो। सञ्चालकहरूले विद्यालय परिवारको सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको कामना गर्दै चाडपर्वहरूले समाजमा आपसी भ्रातृत्व, एकता र हर्षोल्लासको वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरे।
शुभकामना र टीका-जमरा ग्रहण गर्ने कार्यक्रम पश्चात विद्यालय परिवारको सहभागितामा विशेष सहभोजको आयोजना गरिएको थियो। आपसी आत्मीयता, सद्भाव र भ्रातृत्व बढाउने उद्देश्यका साथ आयोजित उक्त सहभोजमा सञ्‍चालक र शिक्षकहरूले सँगै बसेर भोजन ग्रहण गर्दै रमाइलो सांस्कृतिक वातावरणमा समय बिताएका थिए।
चाडपर्वको मौलिकता र सांस्कृतिक महत्त्वबारे नयाँ पुस्तालाई परिचित गराउन र विद्यालयभित्र एउटा पारिवारिक वातावरण निर्माण गर्न यो कार्यक्रमले विशेष भूमिका खेलेको विद्यालय प्रशासनले जनाएको छ। कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष धनबहादुर राना मगर र विद्यालयका प्रधानाध्यापक उपेन्द्र कँडेललगायतले शुभकामना व्यक्त गर्नुभयो ।

सम्बन्धित खवर