पथरी (मोरङ) : सञ्चारकर्ममार्फत समाजका आवाज उठाउँदै आएका मोरङ, पथरीशनिश्चरेका चार जना सक्रिय पत्रकार अब राजनीतिक दलको नीति निर्माण तहमा पनि देखिने भएका छन्। नेपाली कांग्रेसको हालै सम्पन्न वडा अधिवेशनबाट पथरीशनिश्चरे नगरपालिकाका चार जना सञ्चारकर्मी पार्टीको क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका हुन्।
विभिन्न वडाबाट समावेशी तथा खुला प्रतिस्पर्धामार्फत उनीहरू क्षेत्रीय तहको जिम्मेवारीमा पुगेका हुन्। पत्रकारितासँगै लामो समयदेखि पार्टीको सांगठनिक भूमिकामा समेत क्रियाशील रहँदै आएका यी सञ्चारकर्मीहरूको चयनले क्षेत्रीय संरचनामा बौद्धिक र सञ्चार जगत्को दरिलो उपस्थिति जनाएको छ।
को–कहाँबाट, कुन कोटामा निर्वाचित?
निशा दाहाल (वडा नं. ४) : महिला कोटाबाट
रामकुमार परियार (वडा नं. ६) : ‘हसहन्द खबर’ का सञ्चारकर्मी परियार दलित कोटाबाट
अनुप योन्जन (वडा नं. ७) : ‘पिएल टिभी’ का सञ्चारकर्मी योन्जन खुला कोटाबाट
प्रेमप्रसाद भट्टराई ‘प्रेम केडी’ (वडा नं. १०) : ‘जनचासो’ का सञ्चारकर्मी भट्टराई विज्ञ कोटाबाट
निर्वाचित प्रतिनिधिहरूमध्ये अनुप योन्जन यसअघि नै नेपाली कांग्रेसको जिल्ला कार्यसमिति सदस्यका रूपमा सांगठनिक अनुभव बटुलिसकेका युवा हुन् भने प्रेमप्रसाद भट्टराईले वडा सचिवको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका छन्।
सञ्चार क्षेत्रको अनुभव, सामाजिक सचेतना र संगठनात्मक पकड भएका पत्रकारहरूको यो प्रवेशले कांग्रेसको आसन्न क्षेत्रीय अधिवेशनमा नयाँ बहस र ऊर्जा थप्ने स्थानीय कार्यकर्ताहरूको अपेक्षा छ तर सञ्चार जगत् स्वतन्त्र हुन नसकेको बहस भइरहेका बेला पत्रकारहरू नै पाटी अधिवेशनबाट निर्वाचित भएको घटनाले समाचारमा निष्पक्षता हुने कुरामा भने आशंका उब्जाएको छ ।







