पेरिस, ‘द गार्जियन’ पत्रिकाका अनुसार युरोपमा चलेको भीषण गर्मीको लहरका कारण कम्तीमा ३५ हजारको मृत्यु भएको छ।
गर्मीका कारण यस वर्ष भएको मृत्युको अन्तिम संख्या अझ धेरै हुने सम्भावना छ किनभने युरोपका आधा देशहरूको तथ्याङ्क अझै उपलब्ध छैन र कुनै पनि देशले अगस्ट महिनाको अतिरिक्त मृत्युको विवरण सार्वजनिक गरेका छैनन्।
मृत्युको यो प्रारम्भिक तथ्याङ्कलाई लिएर अमेरिकी क्रेडिट रेटिङ एजेन्सी ‘एस एन्ड पी ग्लोबल रेटिङ्स’ले चेतावनी दिएको छ कि युरोपको गर्मीको लहरले बीमा दाबीहरूमा भारी वृद्धि गराउनेछ तथा जीवन बीमा र स्वास्थ्य बीमाको लागत बढाउने छ।
कम्पनीले जनाएअनुसार बीमा कम्पनीहरूले खडेरीका कारण बालीमा भएको क्षति र डढेलोले निम्त्याएको विनाश लगायतका धेरै अतिरिक्त दाबीहरूको भुक्तानी गर्नुप र्नेछ। ‘गर्मीका कारण हुने मृत्यु भन्दा पनि स्वास्थ्य अवस्था बिग्रनु र त्यसका कारण उपचार तथा अस्पताल भर्ना हुनेहरूको संख्या बढ्नुले बीमा कम्पनीहरूको आर्थिक अवस्थामा भार पार्न सक्छ र फलस्वरूप बीमा शुल्क बढाउन सक्छ,’ एस एन्ड पी ग्लोबल रेटिङ्सले आफ्नो विश्लेषणमा भनेको छ।
कम्पनीले थप उल्लेख गरे अनुसार युरोपको तीव्र गतिमा वृद्ध भइरहेको जनसंख्या गर्मी सम्बन्धी स्वास्थ्य समस्याहरूको जोखिममा बढी छ र वृद्ध मानिसहरूको बढ्दो हिस्साले युरोपमा गर्मीका कारण हुने मृत्युदर बढाउने सम्भावना देखाउँछ।
द ल्यान्सेट प्लानेटरी हेल्थमा प्रकाशित हालैको एक अध्ययनले पत्ता लगाएको छ कि ६० वर्ष वा सोभन्दा बढी उमेरका मानिसहरू अत्यधिक गर्मीको जोखिममा बढी हुन्छन् किनभने उनीहरूलाई कम पसिना आउँछ र उनीहरूको रक्तनलीहरू फैलिन नसक्दा तथा रक्तप्रवाह बढाउन नसक्दा मुटुले बढी काम गर्नुपर्ने हुन्छ।
युरोपमा हालसम्म दर्ता भएका ३५ हजार अतिरिक्त मृत्युमध्ये १० हजार ६५० मृत्यु जुन २२ देखि जुन २८ सम्म चलेको गर्मीको लहरका बेला भएका थिए, जसमध्ये ९ हजार मृत्यु ६५ वर्ष वा सोभन्दा बढी उमेरका मानिसहरूको थियो।
जर्मनीको जनस्वास्थ्य निकाय ‘रोबर्ट कोच इन्स्टिच्युट’ले जनाए अनुसार ती १० हजार ६५० मृत्युमध्ये ९ हजार ६०० जर्मनीमा भएका थिए जबकि सामान्यतया त्यहाँ गर्मीयाममा गर्मीका कारण करिब २ हजार मानिसको मृत्यु हुने गर्छ । अतिरिक्त मृत्यु गर्मीका कारण भएको यो मृत्युको संख्याले संकेत गर्छ कि युरोपले जुलाई २०२२ यताकै सबैभन्दा बढी अतिरिक्त मृत्युको सामना गर्नुपर्ने हुन सक्छ ।
त्यसबेला कोभिड १९ महामारीका कारण मृत्युको संख्यामा भारी वृद्धि भएको थियो। जर्मनीका पूर्व स्वास्थ्य मन्त्री कार्ल लाउटरबाखले गत हप्ता भनेका थिए कि पछिल्लो तथ्याङ्क वास्तविक संख्याभन्दा निकै कम हुने सम्भावना छ। यस वर्ष युरोपमा देखिएका चारवटा तातो हावाको लहरले महादेशको पश्चिमी भागलाई मुख्य रूपमा प्रभावित पारेका छन् र यस क्रममा धेरै कीर्तिमानहरू तोडिएका छन्।
उदाहरणका लागि, फ्रान्समा राष्ट्रिय स्तरमा अहिलेसम्मकै सबैभन्दा बढी औसत दैनिक तापक्रम मापन गरिएको थियो। जर्मनीमा जुन महिनामा लगातार तीन दिनसम्म तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो भने स्पेनमा पनि धेरै दिनसम्म तापक्रम कम्तीमा ४२ डिग्री सेल्सियस रहेको थियो। यस्तो अत्यधिक गर्मीको मुख्य कारण मानवीय गतिविधिका कारण उत्पन्न विश्वव्यापी तापक्रम वृद्धिलाई मानिएको छ, जसलाई ‘एल निनो’ मौसमी प्रणालीले अझ तीव्र बनाएको छ। न्युज कारखानाबाट







