भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित सहकारीका बचतकर्ताहरूका लागि मागदाबी गर्ने अन्तिम अवसर प्रदान गरेको छ ।
समितिले शुक्रबार एक सूचना जारी गर्दै यसअघि मागदाबी गर्न छुटेका बचतकर्ताहरूका लागि आगामी भदौ १५ गतेदेखि अनलाइनमार्फत मागदाबी पेश गर्ने व्यवस्था मिलाइएको जनाएको छ । बचतकर्ताहरूले समितिको आधिकारिक वेबसाइट मार्फत तीन महिनाभित्र आफ्नो बचत रकमको मागदाबी पेश गर्नुपर्नेछ ।
समितिका अनुसार यो मागदाबी गर्ने अन्तिम अवसर हो । यसअघि विभिन्न कारणले मागदाबी गर्न नपाएका बचतकर्ताहरूलाई लक्षित गरी यो प्रणाली पुनः सुचारु गर्न लागिएको हो ।
कार्यालय स्थानान्तरण र सेवा स्थगन
यसैबीच, समितिको कार्यालय हाल रहेको स्थानबाट स्थानान्तरण भई बबरमहलस्थित वन परिसरको पछाडि सर्न लागेको छ । कार्यालय सर्ने प्रक्रियामा रहेकाले ऋण असुली, ऋण बचत मिलान, सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका नियमित कार्यहरूमध्ये ऋण बचत मिलानको कार्य आगामी भदौ १५ गतेसम्मका लागि स्थगित गरिएको समितिले जनाएको छ ।
कार्यालय स्थानान्तरणका कारण सेवाग्राहीमा पर्न जाने असुविधाप्रति समितिले क्षमाप्रार्थी रहेको उल्लेख गरेको छ । थप जानकारीका लागि समितिको फोन वा वेबसाइट www.coopmc.gov.np मा सम्पर्क गर्न सकिनेछ । (मेराेलगानीबाट)







