पथरीशनिश्चरे, स्थानीय स्तरमा मत्स्यपालन व्यवसायलाई प्रोत्साहन गर्ने उद्देश्यले पथरीशनिश्चरे नगरपालिकाले ५० प्रतिशत अनुदानमा माछा भुरा वितरण कार्यक्रम सम्पन्न गरेको छ।
नगरपालिकाको पशु पन्छी तथा मत्स्य शाखाद्वारा आर्थिक वर्ष २०८२/८३ अन्तर्गत सञ्चालन गरिएको मागमा आधारित कार्यक्रममार्फत नगरका विभिन्न स्थानका किसानलाई माछा भुरा उपलब्ध गराइएको हो।
बुधबार आयोजित कार्यक्रममा नगर प्रमुख मोहनप्रसाद तुम्वापो र उपप्रमुख देविमाया काफ्लेको उपस्थितिमा माछा भुरा वितरण गरिएको थियो। कार्यक्रमअन्तर्गत नगरभरिका १० वटा माग भएका स्थानमा माछा भुरा वितरण गरिएको मत्स्य प्राविधिक सहायक जनक चौधरीले जानकारी दिए।
नगरपालिकाले व्यावसायिक मत्स्यपालनलाई प्रवर्द्धन गर्दै स्थानीय उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा किसानको आयआर्जनमा टेवा पुर्याउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरेको जनाएको छ।
अनुदानमार्फत प्राप्त माछा भुराले स्थानीय किसानलाई व्यवसाय विस्तार गर्न सहज हुने अपेक्षा गरिएको छ। पछिल्ला वर्षहरूमा मत्स्यपालनप्रति किसानहरूको आकर्षण बढ्दै गएको अवस्थामा नगरपालिकाको यो पहलले उत्पादन र आत्मनिर्भरतामा समेत योगदान पुग्ने विश्वास गरिएको छ।






