पथरीशनिश्चरे, पथरीशनिश्चरे नगरपालिकाको नियमन क्षेत्राधिकारभित्र रहेका सहकारी संस्थाका सदस्यहरूका लागि सहकारी शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
नगरपालिकाको सहकारी शाखाको आयोजनामा मंगलबार नगर सभाहलमा आयोजित कार्यक्रममा नगरभित्र सञ्चालित विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको अध्यक्षता नगर प्रमुख मोहनप्रसाद तुम्वापोले गरेका थिए। सहकारी क्षेत्रको प्रभावकारी सञ्चालन, सुशासन प्रवर्द्धन तथा सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नगरपालिकाले जनाएको छ।
नगर सहकारी शाखा प्रमुख केशवदेवी धमलाले सञ्चालन गर्नुभएको औपचारिक सत्रपछि जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मोरङका वरिष्ठ उपाध्यक्ष एकराज निरौलाले सहजीकरण गर्नुभएको थियो। उहाँले सहकारीका सिद्धान्त, मूल्य–मान्यता, सदस्यको भूमिका तथा वर्तमान सहकारी क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउनुभएको थियो।
कार्यक्रममा सहभागीहरूले सहकारी शिक्षा र वित्तीय अनुशासनसम्बन्धी विविध विषयमा जानकारी प्राप्त गरेका थिए। नगरपालिकाले सहकारी क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र सदस्यकेन्द्रित बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।






