निधनपछि पनि जीवित रह्यो कृतित्व, दीपेन्द्रराज तिम्सिनाको पुस्तक सम्मानित

निधनपछि पनि जीवित रह्यो कृतित्व, दीपेन्द्रराज तिम्सिनाको पुस्तक सम्मानित

पथरी, साहित्यकार दीपेन्द्रराज तिम्सिना शारीरिक रूपमा यो संसारमा नरहे पनि उनको सिर्जनाले भने सम्मान र पहिचान प्राप्त गरिरहेकै छ। मरणोपरान्त उनको पुस्तक ‘गुमनाम एक इतिहास बिसे नगर्ची’ यशस्वी पुस्तक सम्मान–२०८१ बाट सम्मानित भएको छ।

ललितपुरको पुल्चोकस्थित होटल हिमालयमा आयोजित कार्यक्रममा यशस्वी प्रज्ञा प्रतिष्ठानले उक्त कृतिलाई नगद २० हजार रुपैयाँसहित सम्मान प्रदान गरेको हो। सम्मान लेखक तिम्सिनाको तर्फबाट उनकी छोरी दिलासा तिम्सिनाले ग्रहण गरेकी थिइन्।

इतिहास र समाजका ओझेलमा परेका पात्र तथा विषयवस्तुमाथि कलम चलाउँदै आएका तिम्सिनाले आफ्नो जीवनकालमा १४ वटा खोजमूलक कृति प्रकाशन गरेका थिए। तीमध्ये ‘गुमनाम एक इतिहास बिसे नगर्ची’ ले नेपाली इतिहासका कम चर्चित तर महत्त्वपूर्ण योगदान दिने पात्रलाई उजागर गर्ने प्रयास गरेको समीक्षकहरूको भनाइ छ।

May be an image of text

उच्च रक्तचापका कारण २०८२ साल फागुन १९ गते ४५ वर्षको उमेरमा तिम्सिनाको निधन भएको थियो। उनको निधनपछि प्राप्त यो सम्मानलाई साहित्यिक योगदानप्रतिको संस्थागत कदरका रूपमा हेरिएको छ।

काठमाडौ कलिङ साहित्य महोत्सवको अवसरमा आयोजित कार्यक्रममा तिम्सिनासहित पाँच जना स्रष्टालाई सम्मान गरिएको यशस्वी प्रज्ञा प्रतिष्ठानकी अध्यक्ष रञ्जना निरौलाले जानकारी दिइन्।

साहित्य, इतिहास र अनुसन्धानका क्षेत्रमा पुर्‍याएको योगदानका कारण तिम्सिनाको कृतित्व आगामी पुस्ताका लागि समेत प्रेरणाको स्रोत बन्ने साहित्यिक वृत्तको विश्वास छ।

सम्बन्धित खवर