आमाको दूध प्रतिस्थापन गर्ने वस्तुको बिक्री–वितरण नियन्त्रणबारे पथरी शनिश्चरेमा अभिमुखीकरण

आमाको दूध प्रतिस्थापन गर्ने वस्तुको बिक्री–वितरण नियन्त्रणबारे पथरी शनिश्चरेमा अभिमुखीकरण

पथरी शनिश्चरे, जेठ

पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री–वितरण नियन्त्रण) ऐन, २०४९’ सम्बन्धी अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा आमाको दूधको विकल्पका रूपमा उत्पादन तथा बिक्री–वितरण गरिने वस्तुहरू, तिनको प्रयोग, कानुनी व्यवस्था तथा स्तनपानको महत्वका विषयमा छलफल र अन्तरक्रिया गरिएको थियो।

नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत तथा अनुगमन निरीक्षक एकराज खत्रीले स्तनपानको महत्व, स्तनपानसम्बन्धी सिफारिस गरिएका व्यवहार, नेपाल तथा विश्वव्यापी स्तनपानको अवस्था लगायतका विषयमा प्रस्तुति दिनुभयो।

त्यसैगरी राजस्व अधिकृत ताराप्रसाद ढकालले नगरभित्र सञ्चालनमा रहेका स्वास्थ्य व्यवसायहरूको दर्ता तथा नवीकरण प्रक्रिया, दर्ताका फाइदा, कानुनी दायित्व, करका दररेट तथा नगरको आर्थिक ऐनसम्बन्धी विषयमा जानकारी गराउनुभयो।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायब उपरीक्षक वीरदत्त पन्तले लागुपदार्थ दुर्व्यसनका असर, कानुनी प्रावधान, दण्ड–सजाय तथा समाजमा यसको प्रभावबारे जानकारी दिँदै सुरक्षित र सभ्य समाज निर्माणका लागि प्रहरी र समुदायबीचको सहकार्यलाई सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख तुम्वापोले स्वस्थ बालबालिकाको विकास र सुरक्षित भविष्यका लागि पोषणयुक्त तथा स्वास्थ्यवर्धक आहारको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो। उहाँले स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने खाद्य तथा अन्य वस्तुको बिक्री–वितरणलाई निरुत्साहित गर्दै नगरलाई सुरक्षित, स्वस्थ र समुन्नत बनाउन नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा निजी स्वास्थ्य संस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मी, औषधि पसल तथा निजी अस्पताल सञ्चालक, खाद्य सामग्री व्यवसायी, बजार अनुगमन समितिका पदाधिकारी, सञ्चारकर्मी तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो।

सम्बन्धित खवर