विराटनगर, जेठ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको प्रथम जिल्ला अधिवेशनबाट उर्लाबारीका भरत कँडेल जिल्ला सभापतिमा निर्वाचित भएका छन्।
शनिबार सम्पन्न अधिवेशनको अन्तिम मतपरिणामअनुसार कडेलले २ सय ८३ मत प्राप्त गर्दै सभापति पदमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कोषराज खनालले १ सय ३४ मत प्राप्त गर्दा अर्का उम्मेदवार सागर फुयालले ५६ मत प्राप्त गरेका थिए।
मोरङको उर्लाबारी–२ निवासी कँडेल लामो समयदेखि संगठन निर्माण र जनपरिचालनमा सक्रिय रहँदै आएका नेता हुन्। उनी २०७९ सालमा रास्वपामा आबद्ध भएका थिए। त्यसयता मोरङमा पार्टी विस्तार, सदस्यता अभियान सञ्चालन तथा संगठन सुदृढीकरणमा उनले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।
यसअघि विवेकशील साझा पार्टीमा समेत नेतृत्वदायी जिम्मेवारी सम्हालेका कँडेललाई संगठन व्यवस्थापन र कार्यकर्ता परिचालनमा कुशल नेताका रूपमा चिनिन्छ। पार्टीभित्र सरल कार्यशैली र कार्यकर्तामैत्री व्यवहारका कारण उनी लोकप्रिय मानिन्छन्।
अधिवेशनबाट निर्वाचित भएपछि कँडेलले पार्टी संगठनलाई थप सुदृढ, गतिशील र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले पार्टीभित्रको एकता, संगठन विस्तार र जनअपेक्षाअनुसारको राजनीतिक अभ्यासलाई प्राथमिकताका साथ अघि बढाउने बताएका छन्।
रास्वपाको मोरङ जिल्ला नेतृत्वमा कँडेलको आगमनसँगै जिल्लामा पार्टीको संगठनात्मक गतिविधि थप प्रभावकारी हुने अपेक्षा गरिएको छ। पार्टीका नेता तथा कार्यकर्ताले उनको नेतृत्वले रास्वपालाई जिल्लामा अझ सशक्त राजनीतिक शक्तिका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।






