पथरी शनिश्चरेमा ‘सृजना अनुष्ठान तथा श्रष्टा सम्मान’ कार्यक्रम हुने

पथरी शनिश्चरेमा ‘सृजना अनुष्ठान तथा श्रष्टा सम्मान’ कार्यक्रम हुने

पथरी शनिश्चरे, मोरङको पथरी शनिश्चरे नगरपालिकामा कला र साहित्य क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यले दुई दिने ‘सृजना अनुष्ठान तथा श्रष्टा सम्मान कार्यक्रम’ आयोजना हुने भएको छ ।

नगरपालिकाको उपसमितिका रूपमा रहेको कला साहित्य प्रवर्द्धन समितिको आयोजनामा जेठ १५ र १६ गते विविध साहित्यिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

कार्यक्रमअन्तर्गत जेठ १५ गते स्थानीय सर्जक र विद्यार्थीबीच ‘सृजना विमर्श’ कार्यक्रम आयोजना हुनेछ । कार्यक्रममा स्थानीय सर्जकहरू कृष्णप्रसाद अधिकारी, विद्रोही साहिला, सुमन राई, गणेश बाछाना राई, राजेन्द्र विवश, रविन भट्टराई सायरी, ओमप्रकाश शर्मा अभिन्न, लक्ष्मीप्रसाद फुयाल, मञ्जरी घिमिरे, केशव निरौला, कमल तिम्सिना, रमेश ओझेल र विवेक कार्कीलगायतले आफ्ना सिर्जना प्रस्तुत गर्नेछन् ।

नगरका विद्यार्थीसमेत सहभागी रहने कार्यक्रममा कवि हेमन यात्री प्रमुख सहजकर्ताका रूपमा रहने कार्यक्रम संयोजक तथा प्रवर्द्धन समिति सल्लाहकार भूपेन्द्रराज तिम्सिनाले जानकारी दिनुभयो ।

त्यसैगरी जेठ १६ गते कवि मनु मञ्जिल वक्ताका रूपमा सहभागी हुने कार्यक्रम तय गरिएको छ । कार्यक्रममा विवश बलिभद्र कोइराला, धनकुटे कान्छा, रेखा सुवेदी, रोहित पराई, हेमन यात्री, दिल भुटानी र पहिलो पथरी शनिश्चरे पोयट आइडल लोकसागर साम्बाले कविता तथा गजल प्रस्तुत गर्नेछन् ।

कार्यक्रमलाई थप आकर्षक बनाउन पहिलो पथरी शनिश्चरे सिंगिङ आइडल राज लोहारको प्रस्तुति, डान्सिङ आइडल गरिमा मगरको नृत्य तथा १० दिने नाट्य कार्यशालामा तयार गरिएको नाटकसमेत मञ्चन गरिने आयोजकले जनाएको छ । कार्यशालामा नगरका २० जनाको सहभागिता रहेको छ ।

समिति अध्यक्ष धनराज राई अमीरका अनुसार खोजमूलक पुस्तक लेखनमार्फत राष्ट्रिय चिनारी स्थापित गर्न सफल तथा नगरमा सबैभन्दा बढी १४ वटा पुस्तक प्रकाशित गर्ने लेखक दीपेन्द्रराज तिम्सिना लाई मरणोपरान्त ‘नगर श्रष्टा सम्मान’ प्रदान गरिनेछ । सम्मानस्वरूप २५ हजार रुपैयाँ नगद, मुहारचित्र, दोसल्ला र सम्मानपत्र प्रदान गरिने जनाइएको छ ।

कला साहित्य प्रवर्द्धन समितिले २०७५ सालदेखि हरेक वर्ष कला र साहित्य क्षेत्रका गतिविधि सञ्चालन गर्दै आएको छ ।

सम्बन्धित खवर