मोरङ, ए.आई. जडित एक्स–रे प्रविधिबाट शंकास्पद क्षयरोगका बिरामीहरुको पहिचान गर्न सञ्चालन गरिने स्क्रीनिङ क्याम्पका लागि स्वयंसेविकाहरुलाई लक्षित गरी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
पथरी शनिश्चरे नगरपालिकाको सभाहलमा सम्पन्न उक्त कार्यक्रम नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा आयोजना गरिएको थियो। नगरपालिकाको आयोजना तथा बागमती सेवा समाज विराटनगरको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले स्क्रीनिङ क्याम्प सञ्चालनको उद्देश्य, आवश्यकता तथा यसले क्षयरोग नियन्त्रणमा पार्ने सकारात्मक प्रभावबारे जानकारी गराउनुभयो। नगरका स्वयंसेविका, स्वास्थ्य शाखाका कर्मचारी तथा सञ्चारकर्कीहरूको सहभागिता रहेको कार्यक्रममा बागमती सेवा समाजका प्रमुख डा. मुक्ति खनालले सहजीकरण गर्नुभएको थियो।
यसैबीच, स्वास्थ्य शाखाका सिअहेव एकराज खत्रीका अनुसार फागुन ४ गते वडा नं. ३ स्थित सामाजिक आधारभूत विद्यालय, ५ गते वडा नं. ६ को रामजानकी आधारभूत विद्यालय, ६ गते वडा नं. ९ को वडा कार्यालय, ७ गते वडा नं. १० को आधारभूत स्वास्थ्य केन्द्र शिविर डाँडा र ८ गते वडा नं. १ को आधारभूत स्वास्थ्य केन्द्रमा स्क्रीनिङ क्याम्प सञ्चालन गरिनेछ।
नगरपालिकाले सबै सम्बन्धितलाई तोकिएको मितिमा उपस्थित भई सेवाको लाभ लिन आग्रह गरेको छ।




