राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार गनेस पौडेलको ‘स्थानीयसँग संवाद यात्रा’ चुनावी अभियानको प्रमुख आकर्षण बनेको छ। पोखरा महानगरपालिका अन्तर्गत वडा नम्बर १३ का टोल–टोलमा पुगेर जनताको मन बुझ्ने, सुझाव संकलन गर्ने र मत माग्ने क्रममा स्थानीयको उल्लेख्य सहभागिता र उत्साह देखिएको छ।
शनिबार बिहान ८ बजे पोखरा–१३ पाटनबेँसीमा सम्पर्क कार्यालय उद्घाटन तथा संवाद यात्रा कार्यक्रममार्फत अभियानको औपचारिक सुरुवात गरिएको थियो। त्यसक्रममा बिहान १० बजे कञ्चन टोल, दिउँसो १२ बजे शुभकामना टोल र दिउँसो ३ बजे भञ्ज्याङ क्षेत्रमा संवाद कार्यक्रम सम्पन्न भएको थियो।
कास्की क्षेत्र नम्बर १ का निर्वाचन कमाण्डर श्रीकृष्ण न्यौपानेका अनुसार हरेक स्थानमा उम्मेदवार पौडेल र स्थानीयबीच प्रत्यक्ष संवाद, सुझाव संकलन तथा आशीर्वाद ग्रहण गरिएको थियो। संवाद कार्यक्रममा स्थानीयले परिवर्तनको पक्षमा स्पष्ट समर्थन जनाएका थिए।
वडा नम्बर १३ की स्थानीय कमला गौतमले महिलाहरू अब आफ्ना मुद्दा खुलेर राख्न थालेको बताउँदै काम गर्ने र इमान्दार नेतृत्व आए जीवन सहज हुने विश्वास व्यक्त गरिन्। यस्तै, स्थानीय युवा रमेश बरालले जेन–जी पुस्ताको भावना बुझ्ने नेतृत्वको आवश्यकता औंल्याउँदै देश बदलिन सक्छ भन्ने आशाले मतदानप्रति उत्साहित भएको बताए। स्थानीय प्रेमचन्द बरालले देश कठिन परिस्थितिबाट गुज्रिरहेको अवस्थामा परिवर्तन चाहने उम्मेदवारलाई नै मत दिनुपर्ने धारणा राखे।
संवाद कार्यक्रममा बोल्दै उम्मेदवार गनेस पौडेलले देशको अवस्था सुधार्ने उद्देश्यले राजनीतिमा आएको स्पष्ट पारे। “देश कमजोर अवस्थामा पुगेको देखेर चुप लागेर बस्न सकिनँ। युवालाई अवसर, सेवा प्रणाली सहज र जनताले सम्मानित जीवन जिउन सकून् भन्ने सोचका साथ राजनीतिमा आएको हुँ,” उनले भने।
पौडेलले जनताको मतलाई आशीर्वादका रूपमा लिने उल्लेख गर्दै भने,
“जनताको विश्वास र मत मेरो लागि आशीर्वाद हो। यहाँ उठेका आवाजलाई योजनामा रूपान्तरण गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्छु।”
उनले जेन–जी युवाको ऊर्जा, नयाँ सोच र परिवर्तनको चाहनालाई समेट्दै अघि बढ्ने संकल्प पनि व्यक्त गरे।
रास्वपा कास्की क्षेत्र नम्बर १ निर्वाचन परिचालन कमिटीका अनुसार आइतबार माघ २५ गते पोखरा–१४ स्थित ॐ शान्ति चोकबाट चाउथे शुभमार्ग, हिमाली टोल र बिरौटा क्षेत्रमा संवाद यात्रा निरन्तर रहनेछ।
संवाद यात्राले कास्की–१ मा चुनावी माहोललाई थप उत्साहपूर्ण र आशावादी बनाएको देखिएको छ।





