पोखरा महानगरपालिका वडा नं. २७ रिठेपानीस्थित राईजिङ्ग स्टार युथ क्लबको भण्डारी टोल भलिबल कोर्टमा सम्पन्न नवौं राईजिङ्ग स्टार खुल्ला वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि आयोजक राईजिङ्ग स्टार युथ क्लबले हात पारेको छ।
शनिबार सम्पन्न फाइनल खेलमा बागलुङ्गको ढोरपाटन समूहलाई पराजित गर्दै आयोजक टिम च्याम्पियन बन्न सफल भएको हो। उपाधिसँगै आयोजक राईजिङ्ग स्टार युथ क्लबले नगद रु. १ लाख ११ हजार १११ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
फाइनल खेलको पहिलो सेट जिते पनि लगातार दुई सेटमा पराजय भोग्दै बागलुङ्गको ढोरपाटन समूह उपविजेतामा सीमित रह्यो। ढोरपाटन समूहले नगद रु. ५५ हजार ५५५ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
क्लबका अध्यक्ष तिलबहादुर गुरुङ (अनिल) को अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा क्लबका आजीवन संरक्षक तथा पोखरा महानगरपालिका वडा नं. २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङ, वडा सदस्य जितेन्द्रबहादुर क्षत्री, क्लबका पूर्व अध्यक्ष यमप्रसाद गुरुङ, संस्थापक अध्यक्ष प्रदीप गुरुङलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा उत्कृष्ट खेलाडी राईजिङ्ग स्टारका सञ्जु विक्रम शाह, उत्कृष्ट सर्भर ढोरपाटनका सञ्जोक परियार, उत्कृष्ट डिफेण्डर जीवन भण्डारी, उत्कृष्ट स्पाइकर कमल सुनार, उत्कृष्ट ब्लकर राईजिङ्ग स्टारका विश्वास अधिकारी तथा उत्कृष्ट सेटर अशोक ठकुरीलाई पुरस्कार प्रदान गरिएको थियो।
पूर्व अध्यक्ष विष्णुप्रसाद गुरुङले सञ्चालन गरेको प्रतियोगितामा कुल १५ टिमको सहभागिता रहेको थियो।





