उर्लाबारी, नेपाली काङ्ग्रेस मोरङ निर्वाचन क्षेत्र नं. १ ले उर्लाबारी नगरपालिका–४ भद्रमारीमा आफ्नो सम्पर्क कार्यालय औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। पार्टीको संगठन विस्तार र आगामी निर्वाचनलाई लक्षित गर्दै स्थापना गरिएको कार्यालयको उद्घाटन विशेष कार्यक्रमका बीच सम्पन्न भएको हो।
उद्घाटन समारोह क्षेत्रीय सभापति शंकर राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सह–महामन्त्री तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार खड्गबहादुर फागो प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रमलाई सम्बोधन गर्दै सभापति राईले संगठनलाई थप गतिशील बनाउँदै अनुशासित र जिम्मेवार ढंगले चुनावी अभियान अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले काङ्ग्रेसका भातृ तथा शुभेच्छुक संस्थाहरूलाई आपसी समन्वयका साथ परिचालन गर्न सके पार्टी अझ मजबुत हुने धारणा राख्नुभयो।
नेपाल तरुण दलका केन्द्रीय सदस्य सचिन शाक्यले पार्टीभित्र एकता कायम गर्दै सबै तहका कार्यकर्ता सक्रिय रूपमा मैदानमा उत्रिएमा काङ्ग्रेसको जित सुनिश्चित हुने विश्वास व्यक्त गर्नुभयो। पार्टीका संस्थापक सभापति नरेश थापाले काङ्ग्रेसको ऐतिहासिक भूमिका स्मरण गराउँदै युवा नेतृत्वलाई सफल बनाउन सबै तहबाट साझा प्रयास आवश्यक रहेको बताउनुभयो।
त्यसैगरी महिला संघ क्षेत्रीय सभापति गोमा नेपालले कार्यकर्ताबीच एकता र सहकार्य कायम राख्दै जिम्मेवारीपूर्वक अघि बढ्न आग्रह गर्नुभयो। प्रमुख अतिथि तथा उम्मेदवार खड्गबहादुर फागोले मोरङ–१ को समग्र विकास, सुशासन र परिवर्तनका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै आम मतदातासँग सहयोग र समर्थनको अपिल गर्नुभयो।




