पूर्व राष्ट्रसेवक तथा नागरिक संघ नेपाल कास्कीको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न

पूर्व राष्ट्रसेवक तथा नागरिक संघ नेपाल कास्कीको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न

पूर्व राष्ट्रसेवक तथा नागरिक संघ नेपाल, कास्की जिल्लाको प्रथम साधारण सभा तथा प्रथम अधिवेशन शनिबार पोखरा महानगरपालिका–३० लेखनाथस्थित शिशुवामा सम्पन्न भएको छ।

कार्यक्रममा संघका केन्द्रीय सचिव सुन्दर शर्मा पौडेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने रामचन्द्र पराजुलीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा संघका संरक्षक, सामाजिक व्यक्तित्व शिवप्रसाद न्यौपानेले पूर्व राष्ट्रसेवक नागरिकहरूको दीर्घ अनुभव, ज्ञान र अनुशासनलाई समाज र राष्ट्र सेवामा प्रभावकारी रूपमा उपयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। सामाजिक संस्था भएकाले समाज परिवर्तनमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताउँदै उहाँले राष्ट्रसेवक नागरिकहरूले आफ्नो सीप र दक्षता समाजका लागि प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो। साथै, संस्थालाई आम नागरिकको हक, हित, अधिकार र सम्मानको संरक्षण गर्ने केन्द्रको रूपमा विकास गर्न सुझाव दिनुभयो।

कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष चेतबहादुर रावल (प्रविण)ले संसार बदल्न आफैँबाट परिवर्तन सुरु गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। सही योजना, संकल्प, नीति तथा विधानको पालना गर्दै संघले विभिन्न समयमा सामाजिक कार्य गर्दै आएको उल्लेख गर्दै उहाँले नयाँ प्रविधि अनुरूप संस्थालाई अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो। पद, प्रतिष्ठा र हैसियतभन्दा कर्तव्य र जिम्मेवारीलाई प्राथमिकतामा राखी संघलाई आशा, भरोसा र सेवाको केन्द्र बनाउनुपर्ने उहाँको भनाइ थियो। साथै, संघले ७० भन्दा बढी उद्देश्यसहित जात, धर्म, वर्ग र क्षेत्रको भेदभाव नगरी समाजसेवामा क्रियाशील रहेको जानकारी दिनुभयो।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ३० की वडा सदस्य भिमकुमारी पुन, संघकी केन्द्रीय उपाध्यक्ष गंगा हमाल पुरी, अधिवक्ता मदन तिवारी, पूर्व वडा प्रतिनिधि सोमलाल कँडेल, लेखनाथ उद्योग वाणिज्य संघका महासचिव भरतराज ओझा, नागरिक परोपकार समन्वय संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र ओझा, लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरी पौडेल, संघ लमजुङ कार्यसमिति अध्यक्ष नारायणबहादुर थापा, शिशुवा जेष्ठ नागरिक समाजका अध्यक्ष तारानाथ पौडेल, शिशुवा बजार व्यवस्थापन समितिका अध्यक्ष शिवराज अधिकारी, चक्रदेवी बहुमुखी सहकारीका अध्यक्ष अर्जुन ताम्राकार, शान्ति टोल विकास संस्थाकी सह–अध्यक्ष लक्ष्मी त्रिपाठी, जागृति आमा समूहकी अध्यक्ष सरादा लामिछाने तथा संघका कार्यक्रम संयोजक चक्रबहादुर भुजेललगायतले संस्थाको उद्देश्य, भूमिका र भावी योजनाका बारेमा आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो।

सम्बन्धित खवर