पोखरा–३१ पचभैयास्थित श्री अमरसिद्ध नमुना माध्यमिक विद्यालयको ७१औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह भव्य रूपमा सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारामणि घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिका वडा नं. ३१ का वडाध्यक्ष ढकनाथ कँडेलले गर्नुभयो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै वडाध्यक्ष कँडेलले सार्वजनिक विद्यालयको शैक्षिक उन्नयनका लागि विद्यालय, शिक्षक, अभिभावक र स्थानीय समुदायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा पोखरा महानगरपालिका शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीले शुभकामना मन्तव्य व्यक्त गर्दै सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षकहरूले समयअनुसार आफ्नो सोच र शिक्षण शैलीमा परिवर्तन ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो। साथै उहाँले विद्यालयप्रति अभिभावकको विश्वास अझ मजबुत बनाउन विद्यालय परिवारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा विद्यालयका निवर्तमान प्रधानाध्यापक विष्णुप्रसाद पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन शिक्षक रमेश सुवेदीले गर्नुभएको थियो। विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर भुजेलले विद्यालयको शैक्षिक, आर्थिक तथा भौतिक अवस्थासम्बन्धी वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो।
समारोहमा अभिभावक, चन्दादाता, स्थानीय शिक्षाप्रेमी, बुद्धिजीवी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। सो अवसरमा शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। साथै उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै शिक्षक निलकण्ठ पाण्डेय, जुनादेवी वास्तोला तथा कर्मचारी बुद्धि गुरुङलाई सम्मानसहित पुरस्कृत गरिएको थियो।
विद्यार्थीहरूले प्रस्तुत गरेका विविध सांस्कृतिक कार्यक्रमले समारोहलाई थप आकर्षक बनाएको थियो। कार्यक्रममा विद्यालयमा लामो समयसम्म साविक उच्च माध्यमिक तहमा अध्यापन गराउँदै आउनुभएका पूर्व शिक्षक तथा हाल त्रिवेणी इन्टरनेशनल कलेज, तालचोकका क्याम्पस प्रमुख डिल्लीराम पौडेललाई सम्मान तथा विदाइ गरिएको थियो।




