२६ औँ आदर्श कप फुटबल प्रतियोगिता सुरु, नेपाल प्रहरी गण्डकी सेमिफाइनलमा

२६ औँ आदर्श कप फुटबल प्रतियोगिता सुरु, नेपाल प्रहरी गण्डकी सेमिफाइनलमा

कास्कीको लेखनाथमा शुक्रवारदेखि २६ औँ संस्करणको आदर्श कप फुटबल प्रतियोगिता औपचारिक रूपमा सुरु भएको छ। आदर्श युवा क्लबको आयोजनामा माघ ९ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ।

“निरन्तरता हाम्रो प्रतिबद्धता, फुटबल खेलको विकास हाम्रो दृढता” भन्ने मूल नाराका साथ आयोजित प्रतियोगिताको उद्घाटन फस्ट च्वाइस फुड्स लिमिटेड, रुपन्देहीका प्रमुख कृष्णप्रसाद पौडेलले गरेका हुन्। उद्घाटन समारोहमा बोल्दै उनले खेलकुदले अनुशासन, सहकार्य र भाइचाराको भावना विकास गर्ने उल्लेख गर्दै स्वदेशी उत्पादनमार्फत युवाले देशमै भविष्य बनाउन सक्छन् भन्ने सन्देश दिनुपर्नेमा जोड दिए।

उद्घाटन खेलमा गत वर्षको विजेता कास्की ११ र नेपाल प्रहरी गण्डकी प्रदेशबीच रोचक तथा प्रतिस्पर्धात्मक खेल सम्पन्न भयो। खेलको ४४ औँ मिनेटमा कास्की ११ का मनिष थापा मगरले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफको ४६ औँ मिनेटमा नेपाल प्रहरीका सुशील लामाले बराबरी गोल फर्काए।

निर्धारित समय र अतिरिक्त समयमा समेत दुवै टिमबाट थप गोल हुन नसकेपछि खेल टाइब्रेकमार्फत निर्णय भयो। टाइब्रेकमा नेपाल प्रहरी गण्डकी प्रदेश विजयी हुँदै सेमिफाइनलमा प्रवेश गर्न सफल भयो।

प्रतियोगितामा आयोजक आदर्श युवा क्लब, कास्की र तनहुँ जिल्ला फुटबल संघ, नेपाल प्रहरी (गण्डकी प्रदेश), सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी, म्याग्दी जिल्ला खेलकुद विकास समिति, गन्नी फुटबल क्लब पर्वत तथा होराइजन क्लब वालिङ–स्याङ्जा सहभागी छन्।

प्रतियोगिताको विजेता टोलीले रु. ४ लाख ९९ हजार ९९९ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु. ३ लाख ३३ हजार ३३३ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ।

व्यक्तिगत विधागत पुरस्कारअन्तर्गत उत्कृष्ट खेलाडीलाई रु. २५ हजार नगदसहित ट्रफी प्रदान गरिनेछ। अन्य विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई रु. १५ हजार नगदसहित सम्मान गरिने आयोजकले जनाएको छ। प्रत्येक खेलको म्यान अफ द म्याचलाई रु. ५ हजार नगद र ट्रफी प्रदान गरिनेछ।

उद्घाटन समारोहमा आदर्श युवा क्लबका अध्यक्ष पदम गुरुङले आदर्श कपले गण्डकी प्रदेशको फुटबल विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताए। उनले प्रतियोगिताको मुख्य उद्देश्य खेलाडीको खेलस्तर र मनोबल वृद्धि गर्नु, शारीरिक तथा मानसिक विकासमा टेवा पुर्‍याउनु र लोकप्रिय खेल फुटबलको प्रवर्द्धन गर्नु रहेको स्पष्ट पारे।

त्यस्तै क्लबका सचिव सन्तोष गुरुङले खेलकुदमार्फत आपसी भाइचारा विकास, नयाँ खेलाडीको क्षमता अभिवृद्धि, क्लब तथा स्थानको पहिचान र खेल पर्यटन प्रवर्द्धन प्रतियोगिताका प्रमुख लक्ष्य रहेको बताए।

सम्बन्धित खवर