लेखनाथ महोत्सव ११ करोड बढीको कारोबार गर्दै भव्य रूपमा सम्पन्न

लेखनाथ महोत्सव ११ करोड बढीको कारोबार गर्दै भव्य रूपमा सम्पन्न

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’ भन्ने मूल नाराका साथ लेखनाथमा सञ्चालित २१औँ संस्करणको लेखनाथ महोत्सव ११ करोड २० लाख रुपैयाँभन्दा बढीको कारोबार गर्दै सोमबार सम्पन्न भएको छ ।

१२ दिनसम्म सञ्चालन भएको महोत्सवमा ३ लाख ३५ हजार दर्शकले अवलोकन गरेका थिए । महोत्सवले लक्ष्यभन्दा बढी आर्थिक कारोबार र दर्शक सहभागिता जुटाउन सफल भएको प्रचार–प्रसार संयोजक ध्रुवबाबु भट्टराईले जानकारी दिए ।

व्यापारिक मेला आर्थिक समृद्धिको आधार : महानगर प्रमुख

समापन समारोहलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले व्यापारिक मेला तथा महोत्सवले आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो । मेला–महोत्सवले क्रेता र विक्रेतालाई एउटै स्थानमा जोडेर वस्तु तथा सेवाको बजारीकरणमा सहयोग पुग्ने उहाँको भनाइ थियो ।

प्रमुख आचार्यले जेन्जी आन्दोलनका कारण व्यवसायीमा परेको क्षति र घट्दो मनोबलप्रति ध्यान दिनुपर्ने उल्लेख गर्दै स्थानीय अर्थतन्त्रलाई कसरी सुदृढ बनाउने भन्ने विषयमा गम्भीर चिन्तन आवश्यक रहेको धारणा राख्नुभयो ।

उहाँले साविक लेखनाथ क्षेत्रको विकासका लागि बेगनास तालमा वाटर स्पोर्ट्स सञ्चालन गर्ने योजना भए पनि तीन वर्षदेखि अघि बढ्न नसकेको उल्लेख गर्दै अब स्थानीयको सहयोगमा योजना कार्यान्वयन गर्न ढिला भइसकेको बताउनुभयो ।

प्रमुख आचार्यले पोखरा–मुग्लिन सडक आयोजना अन्तिम चरणमा पुगेपछि पोखरा–लेखनाथ दूरी थप छोटिने जानकारी दिनुभयो । महानगरले लेखनाथप्रति कुनै विभेद नगरेको उल्लेख गर्दै ठूला विकास योजना लेखनाथ केन्द्रित गरिएकाले अब स्थानीयले उपेक्षित महसुस गर्न नपर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले व्यापारिक मेला–महोत्सवले आर्थिक चलायमानता बढाउने बताउँदै पोखरा र रूपाको एकीकृत विकास योजना आवश्यक रहेको सुझाव दिनुभयो ।
त्यसैगरी पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापाले साविक लेखनाथ क्षेत्रको विकासका लागि सामाजिक संघसंस्था र उद्योगी–व्यवसायीहरू एकजुट भएर दीर्घकालीन योजना बनाउन आग्रह गर्नुभयो ।

लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष तथा महोत्सवकी मूल संयोजक जानुका अधिकारी पराजुलीले २१औँ संस्करणसम्म आइपुग्दा लेखनाथ महोत्सवले ‘महोत्सवकै महोत्सव’को पहिचान बनाएको बताउनुभयो ।

उहाँले उत्पादक र उपभोक्तालाई एउटै थलोमा जोडेर व्यापार, पर्यटन र प्राकृतिक सम्पदा संरक्षणमा योगदान पुर्‍याएको उल्लेख गर्दै सम्पूर्ण लेखनाथवासीको एकताका कारण महोत्सव सफल भएको बताउनुभयो ।

आयोजक संस्थाले ९ करोड कारोबार र २ लाख ५० हजार दर्शकको लक्ष्य राखेको भए पनि महोत्सवले अपेक्षाभन्दा धेरै सफलता हात पारेको जनाएको छ ।

वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बाँस्तोलाका अनुसार समापन दिन विशेष छुटका कारण किनमेल गर्ने दर्शकको संख्या बढ्दा कारोबारमा उल्लेख्य वृद्धि भएको हो ।

समापन कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट व्यवसायी, कलाकार तथा दर्शकलाई सम्मान गरिएको थियो ।
महोत्सवबाट हुने बचत रकम प्रस्तावित औद्योगिक क्षेत्र निर्माण तथा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने जनाइएको छ ।

संघका अध्यक्ष जानुका अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव भरतराज ओझाले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष विक्रम कर्माचार्यले गर्नुभएको थियो ।

सम्बन्धित खवर