कास्कीको लेखनाथमा पुस ३ गतेदेखि सञ्चालनमा आएको २१औँ संस्करणको लेखनाथ महोत्सव मनोरञ्जनसँगै सामाजिक आत्मीयता र भेटघाटको महत्वपूर्ण थलो बन्दै गएको छ। देशका विभिन्न जिल्लाबाट दर्शकहरूको आगमन बढ्दै जाँदा लामो समयपछि आफन्त, साथीभाइ र चिनजानसँग पुनर्मिलन गर्ने अवसर महोत्सवले प्रदान गरेको छ।
रुपा–२ का रामनाथ ओझाले १४ वर्षपछि आफ्ना पुराना साथी योगेन्द्र गुरुङलाई महोत्सवमै भेट्न पाउँदा खुसी व्यक्त गरे। त्यस्तै, पोखरा–३३ का विष्णु आचार्यले २०६४ सालपछि आफ्ना आत्मीय मित्र नवराज दुरासँग यहीँ भेट भएको बताए। महोत्सवमा विद्यालय जीवनका साथी, टाढाटाढा रहेका आफन्त र चिनजानसँग भेट हुँदा दर्शकहरू खुसी साटासाट गरिरहेका देखिन्छन्।
दिउँसो लोकदोहोरी कार्यक्रम र साँझ पप कन्सर्टमा युवायुवतीहरूको उल्लेख्य उपस्थिति रहने गरेको छ। यसले महोत्सवलाई बालबालिका, युवा, वृद्धवृद्धा, इष्टमित्र तथा परिवार सबैका लागि उपयुक्त भेटघाट र मनोरञ्जनको साझा थलो बनाएको छ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सवका मूल संयोजक जानुका अधिकारी पराजुलीले महोत्सव केवल मनोरञ्जनको साधन मात्र नभई सामाजिक सम्बन्धलाई पुनर्जीवित गराउने माध्यम बनेको बताइन्। “नयाँपन खोज्दै आउने दर्शकहरू पुराना सम्बन्धमा रमाउन पाउँदा निकै खुसी देखिन्छन्,” उनले भनिन्।
महोत्सवमा चर्चित दोहोरी कलाकारहरूको प्रस्तुति, हास्यव्यंग्य कार्यक्रम, पप कन्सर्ट तथा आधुनिक नृत्यले दर्शकलाई भरपूर मनोरञ्जन दिइरहेको छ। साथै, बाल उद्यानमा रहेका विभिन्न खेलप्रति अभिभावकहरूको आकर्षण बढेको छ। विदाका दिन बालबालिकालाई खेल खेलाउन घण्टौँसम्म पर्खनु पर्ने अवस्था रहेको बाल उद्यानका संयोजक भरत थापाले जानकारी दिए।
शनिबार लोकदोहोरीतर्फ बद्री पँगेनी, आशा बिसी, चोलेन्द्र पौडेल, टेक क्षेत्री, कमला सुनार, पूजा गुरुङ लगायतका कलाकारको प्रस्तुति रहेको थियो। बेलुका लाइभ कन्सर्टमा आशिष राना (लाउरे), रितु कँडेल र सुजित सेवानले दर्शकलाई झुमाए। आइतबार लोकदोहोरीतर्फ पशुपति शर्मा, शुष्मा शाही ठकुरी, सरला पाण्डे, प्रेमराज अधिकारी, सम बस्याल, सरस्वती परियार तथा साँझ सुगम संगीततर्फ सम बस्याल र राजेश वर्देवा प्रस्तुत हुने कलाकार व्यवस्थापन समितिका संयोजक भरतराज अधिकारीले जानकारी दिए।
महोत्सवका कोषाध्यक्ष हरि वस्ताकोटीका अनुसार शनिबार मात्र ३५ हजार दर्शकले अवलोकन गरेका छन् भने करिब ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ। हालसम्म २ लाख ८५ हजार दर्शकले महोत्सव अवलोकन गरिसकेका छन् र कुल कारोबार ९ करोड ३० लाख रुपैयाँ पुगेको आयोजकले जनाएको छ।
स्थानीय उत्पादनको प्रवर्द्धन, लोकसंस्कृतिको संरक्षण र सामाजिक आत्मीयता अभिवृद्धिमा योगदान पुर्याउँदै लेखनाथ महोत्सव यस वर्ष पनि सफलतातर्फ अग्रसर देखिएको छ।




