यस वर्षको शेर विष्णु पत्रकारिता पुरस्कार स्मीता अधिकारी तिवारीलाई

यस वर्षको शेर विष्णु पत्रकारिता पुरस्कार स्मीता अधिकारी तिवारीलाई

लेखनाथ पत्रकार मञ्च कास्कीले सञ्चालन गर्दै आएको शेर विष्णु पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार स्मीता अधिकारी तिवारीलाई प्रदान गरिने भएको छ।

पोखरा–३० निवासी शेरबहादुर गुरुङ र विष्णुमाया गुरुङद्वारा गत वर्ष स्थापना गरिएको उक्त पुरस्कार यसपटक अन्नपूर्ण पोस्टको अंग्रेजी संस्करण ‘दि अन्नपूर्ण एक्सप्रेस’ की पोखरा संवाददाता तिवारीलाई प्रदान गर्न लागिएको हो।

हाल पोखरा–३१, मोहोरिया निवासी तिवारीले विसं २०६३ सालमा हिमचुली एफएमबाट पत्रकारिता यात्रा सुरु गरेकी हुन्। त्यसयता उनी पोखराका विभिन्न सञ्चारमाध्यममा आबद्ध रही सक्रिय पत्रकारिता गर्दै आएकी छन्।

पाँच हजार पाँच सय पचपन्न रुपैयाँ राशी रहेको पुरस्कार पुस १५ गते कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मजयन्तीको अवसरमा आयोजित मूल समारोहमा अर्घौं–अर्चलेमा प्रदान गरिने कार्यक्रम रहेको छ।

अक्षयकोषदाता हाल विदेशमा रहेकाले उनको अनुपस्थितिमा लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेल, सचिव रामशरण नेपाली, लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बास्तोला, पूर्व पुरस्कृत व्यक्तिहरू बासुदेव पौडेल तथा स्थापनाकालीन अध्यक्ष भीमपाणि बराल सम्मिलित छनोट समितिले तिवारीलाई यस वर्षको पुरस्कारका लागि छनोट गरेको हो।

उक्त पुरस्कारबाट गत वर्ष पत्रकार दीपक परियार सम्मानित भएका थिए।

सम्बन्धित खवर