बर्दियाको गुलरियामा कपडा बैंकको शुभारम्भ

बर्दियाको गुलरियामा कपडा बैंकको शुभारम्भ

 

बास नेपाल बर्दिया शाखाले “हुनेबाट नहुनेलाई उपहार, न्यानो बाँडौँ मानवता जोगाऔँ” भन्ने मूल नारासहित बर्दियाको गुलरियामा कपडा बैंकको शुभारम्भ गरेको छ। गुलरिया नगरपालिका–स्थित राधाकृष्ण चोकमा आयोजित एक कार्यक्रमबीच उक्त कपडा बैंक सञ्चालनमा ल्याइएको हो।

चिसो मौसममा कोही पनि नागरिक कपडाको अभावमा कष्ट भोग्न नपरोस् भन्ने उद्देश्यले कपडा बैंक स्थापना गरिएको बास नेपाल बर्दिया शाखाले जनाएको छ। बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मलाई राहत पुर्‍याउने लक्ष्यसहित शाखाका सक्रिय युवाहरूको पहलमा यो अभियान अघि बढाइएको हो। आर्थिक रूपमा सक्षम व्यक्तिहरूबाट आर्थिक सहयोग तथा अन्य व्यक्तिहरूबाट कपडा संकलन गरी अभियानलाई निरन्तरता दिइँदै आएको छ।

बास नेपालका केन्द्रीय उपाध्यक्ष खुमेश सुबेदीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा केन्द्रीय सचिव जोशिना थारु, केन्द्रीय सदस्य ईश्वर विक, कार्यकारी निर्देशक नमस्कार शाह, पूर्व केन्द्रीय सदस्य नैन सुनार, जनसम्पर्क अधिकृत माधव कार्की तथा प्रशासन सहायक मिना घर्तिमगरको उपस्थिति रहेको थियो।

प्रमुख अतिथि सुबेदीले रिबन काटेर कपडा बैंकको औपचारिक शुभारम्भ गर्दै मानव सेवामा आधारित यस्ता अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए। सो अवसरमा कपडा लिन आएका व्यक्तिहरूलाई प्रमुख अतिथि सुबेदीकै हातबाट कपडा वितरण गरिएको थियो।

कार्यक्रममा मन्तव्य राख्दै बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले यस मानवतामूलक कार्यको सुरुवात गरेकोमा बर्दिया शाखाका सम्पूर्ण पदाधिकारीलाई धन्यवाद दिँदै कपडा बैंक स्थापना मात्र नभई यसको दीर्घकालीन व्यवस्थापन पनि चुनौतीपूर्ण हुने भएकाले त्यसतर्फ विशेष ध्यान दिन आग्रह गरे।

त्यस्तै, बास नेपालका पूर्व केन्द्रीय सदस्य तथा गुलरिया नगरपालिकाका कार्यपालिका सदस्य नैन सुनारले यस्ता सामाजिक कार्य सफल बनाउन सबैको समन्वय र सहकार्य आवश्यक हुने बताइन्।

कार्यक्रम बास नेपाल बर्दिया शाखाका अध्यक्ष राम सुनामको अध्यक्षतामा सम्पन्न भएको थियो। स्वागत मन्तव्य शाखाका कोषाध्यक्ष राम भण्डारीले राखेका थिए भने कार्यक्रम सञ्चालन शाखा सदस्य लक्ष्मण भण्डारीले गरेका थिए।

सम्बन्धित खवर