देवघाट धार्मिक क्षेत्र प्लाष्टिक निषेधित क्षेत्र घोषणा हुँदै

देवघाट धार्मिक क्षेत्र प्लाष्टिक निषेधित क्षेत्र घोषणा हुँदै

 

देशकै प्रमुख धार्मिक तीर्थस्थल देवघाट क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको छ । यही पुस ११ गते देवघाट क्षेत्र विकास समितिको संयोजनमा तीनवटै स्थानीय तहको उपस्थितिमा औपचारिक रूपमा प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने तयारी गरिएको हो ।

देवघाट क्षेत्र विकास समिति, भरतपुर महानगरपालिका, गैँडाकोट नगरपालिका र देवघाट गाउँपालिकाको सहकार्यमा उक्त अभियान सञ्चालन गर्न लागिएको हो । समितिले सहमति संस्था, नदीसँग हामीलगायत विभिन्न संघ–संस्थासँगको सहकार्यमा देवघाट क्षेत्रलाई क्रमशः प्लाष्टिकमुक्त बनाउने अभियान अघि बढाउने जनाएको छ ।
प्लाष्टिक व्यवस्थापनका लागि देवघाट क्षेत्रभित्र ३७ वटा फोहर फाल्ने डस्बिन राखिएको छ । ती डस्बिनमा प्लाष्टिकजन्य सामग्री, पानीका बोतल तथा पत्ती (ब्लेड) फोहरलाई छुट्टाछुट्टै संकलन गर्ने व्यवस्था गरिएको छ ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष डा. ईश्वरीराज लौडारीले प्लाष्टिक निषेधित क्षेत्र घोषणा पश्चात् प्लाष्टिकमुक्त बनाउने दीर्घकालीन अभियान सञ्चालन गरिने जानकारी दिए । उनका अनुसार समितिको कार्यक्षेत्रभित्र पर्ने ५ हजार ४३४ हेक्टर क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गर्न लागिएको हो ।

“फोहर व्यवस्थापनका लागि सबै पक्ष एकजुट हुन आवश्यक छ,” उनले भने, “हरेक सभ्यता नदीसँग जोडिएकाले नदी सफाइ र संरक्षणमा सबैको भूमिका जरुरी छ ।”

अभियानमा सहकार्य गर्दै आएको सहमति संस्थाका अध्यक्ष ओमनाथ सुवेदीले देवघाटलाई प्लाष्टिकमुक्त बनाउन सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताए । दाहसंस्कार स्थलमा फोहर व्यवस्थापनमा केही समस्या देखिए पनि त्यसको समाधानका लागि सामूहिक प्रयास अपरिहार्य रहेको उनको भनाइ थियो । हाल जनचेतना अभिवृद्धि, प्लाष्टिक झोला नियन्त्रणजस्ता कार्यक्रम सञ्चालन भइरहेको पनि उनले जानकारी दिए ।

यसैगरी देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले देवघाट क्षेत्रलाई स्वच्छ, सफा र प्लाष्टिकमुक्त बनाउन स्थानीय सरकार, संघ–संस्था तथा सर्वसाधारणको निरन्तर सहकार्य आवश्यक रहेको बताए ।

धार्मिक, सांस्कृतिक र पर्यावरणीय दृष्टिले महत्वपूर्ण देवघाट क्षेत्रलाई प्लाष्टिकमुक्त बनाउने यो अभियानले वातावरण संरक्षणसँगै धार्मिक पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

सम्बन्धित खवर