काठमाडौं, नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री मोहम्मद अफताब आलमको निधन भएको छ। शनिबार बिहान करिब ३ बजे काठमाडौं मेडिकल कलेजमा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिएका छन्।
आलमको शव अन्तिम दाहसंस्कारका लागि परिवारले रौतहटको राजपुरतर्फ लगिसकेको प्रहरीले जनाएको छ। पछिल्ला दिनमा उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।
मुटुमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। गत जेठमा नक्खु कारागारबाट रिहा भएपछि उनलाई ब्रेन स्ट्रोक भएको थियो। त्यसपछिका दिनमा उनले काठमाडौं र भारतमा उपचार गराएका थिए।
रौतहटका प्रभावशाली नेता आलमले विसं २०५१ सालमा पहिलोपटक सांसदमा निर्वाचित हुँदै राज्यमन्त्री र मन्त्रीका रूपमा काम गरेका थिए। उनले श्रम, वन, भूमि सुधार र यातायात मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका थिए।
२०६४ सालमा रौतहटको राजपुरमा भएको बम विस्फोट घटनासम्बन्धी मुद्दामा उनलाई जन्मकैदको सजाय भए पनि पछि अदालतले सफाइ दिएको थियो।
६० वर्षको उमेरमा निधन भएका आलमका दुई छोरा र एक छोरी रहेका छन्।







