-केशव भारद्वाज
पथरी (२४ असार)/एउटा परिवारको कथा केवल व्यक्तिगत सफलता मात्र नभई समाजका लागि प्रेरणाको स्रोतसमेत बन्न सक्छ भन्ने उज्यालो उदाहरण बनेका छन्– नेत्रप्रसाद न्यौपाने र सुनिता न्यौपानेका दुई छोराहरू प्रज्वल र निश्चल न्यौपाने । यस वर्षको एसईईमा कान्छो छोराले समेत ४ जिपिए ल्याएपछि पथरीशनिश्चरे–१ मा स्थायी बसोबास गर्ने यो परिवार शिक्षा, अनुशासन र पारिवारिक समर्पणको प्रतीक बनेको छ ।
२०६१ असोज १ मा जन्मिएका ज्येष्ठ सुपुत्र प्रज्वलले २०६४ वैशाखमा स्थानीय वाल्मीकि मेमोरियल स्कुल (नर्सरी)मा भर्ना भई अध्ययन सुरु गरे । निरन्तर त्यहीँ पढेका उनले ऐच्छिक गणित र कम्प्युटर विज्ञान विषय लिएर २०७७ सालको एसईई परीक्षामा ४ जिपिए ल्याए । त्यसपछि पथरीकै एभरेस्ट आवासीय माविबाट विज्ञान समूहमा कक्षा १२ उत्तीर्ण गरी उनी अहिले काठमाडौँको त्रिचन्द्र क्याम्पसमा बिएस्सी फिजिक्स (पिसिएम) अध्ययन गरिरहेका छन् । पढाइसँगै साहित्यप्रतिको मोह राख्ने प्रज्वल भन्छन्, ‘साहित्यले सोच्ने गहिराइ दिन्छ, विज्ञानले प्रमाण खोज्न सिकाउँछ ।’
२०६५ चैत ३ मा जन्मिएका कान्छा छोरा निश्चलले पनि दाजुकै पदचिह्न पछ्याउँदै वाल्मीकि स्कुलमै नर्सरीदेखि पढे । उही ऐच्छिक गणित र कम्प्युटर साइन्स लिएर उनले भर्खरै (२०८१) भएको एसईई परीक्षामा ४ जिपिए ल्याए । अब के गर्ने त ? भन्ने प्रश्नमा निश्चल भन्छन्– ‘मैले भर्खरै विराटनगरको एभरेस्ट स्कुलमा विज्ञान विषय समूह पढ्नका लागि भर्ना गरिसकेको छु । अबको अध्ययनमा एसईईको उपलब्धिलाई जोगाइराख्ने थप जिम्मेवारी वहन गर्नुपर्ने छ ।’
पढाइसँगै खेलकुद र सङ्गीतप्रतिको झुकावले उनलाई अरूभन्दा फरक बनाएको छ । क्रिकेट, टेबलटेनिस र सङ्गीतमा विशेष रुचि राख्ने निश्चल विद्यालयका ‘बेस्ट क्रिकेट प्लेयर’ उपाधिका धनी पनि हुन् ।
बाबु नेत्रप्रसाद न्यौपाने २५ वर्षदेखि कक्षा ११ र १२ का विद्यार्थीलाई लेखा विषयको ट्युसन पढाउँदै आइरहनुभएको छ । ट्युसनसँगै अहिले उहाँ पथरी बहुमुखी क्याम्पसमा परीक्षा शाखा प्रमुखको रूपमा कार्यरत हुनुहुन्छ भने पेगोडा मोडल स्कुलमा लेखा विषयको आंशिककालीन शिक्षकको रूपमा पनि जोडिनुभएको छ । आफ्नो विगतको सङ्घर्ष स्मरण गर्दै नेत्रप्रसाद भन्नुहुन्छ, “मैले कक्षा ११ को वार्षिक परीक्षा दिएलगत्तै साथीहरूलाई ट्युसन पढाएर आर्थिक गर्जो टारेको याद छ । त्यस्तो अवस्थामाझ हुर्किएका दुवै छोराले एसईईमा ४ जिपिए ल्याउँदा धेरै खुसी लागेको छ ।”

उहाँको पहिचान र शैक्षिक योगदान यति चर्चायोग्य छ कि दुवै छोरा पढेको वाल्मीकि मेमोरियल बोर्डिङ स्कुलमा शिक्षक–अभिभावक सङ्घ गठन भएदेखि अहिलेसम्मको अविच्छिन्न अध्यक्षको कार्यभारसमेत सम्हाल्नुभयो । ‘अब भने दुवै छोरा एसईई पास भएपछि अध्यक्ष पद पनि के हुने हो ?’ भनी उहाँ मुस्कुराउँदै सुनाउनुहुन्छ । सङ्घर्षमाझ नेत्रप्रसादले बिबिएससँगै सन् २०१२ मा उर्लाबारी बहुमुखी क्याम्पसबाट जनसङ्ख्या शिक्षामा प्रथम श्रेणीमा एमएड पूरा गर्नुभयो ।
नेपाली विषयमा बिएड गर्नुभएकी आमा सुनिता न्यौपानेले भने कुनै जागिर रोज्नुभएन । बरु, आफ्नो शिक्षा र समय दुवै छोराको पठनपाठनमा केन्द्रित गर्नुभयो । पढाइका अतिरिक्त संस्कार, अनुशासन र नियमित अभ्यासमा उहाँले घरमै वातावरण बनाउनुभयो र सन्तानको उन्नतिमा मियोको भूमिका निर्वाह गर्नुभयो । वाल्मीकि मेमोरियल बोर्डिङ स्कुलका प्रिन्सिपल चन्द्रप्रसाद दुलाल भन्नुहुन्छ, ‘यस्तो प्रगतिमा सबैभन्दा ठुलो भूमिका त घरपरिवारकै छ । हामीले त्यस्ता मेधावी र जिज्ञासु विद्यार्थीलाई सही मार्गदर्शन गरेका हौँ ।’
विगतदेखिका एसईईमात्र नभई यस वर्षको कक्षा ८ को परीक्षामा समेत उत्कृष्ट नतिजा ल्याउन सफल भइरहेको सन्दर्भमा विद्यालयका निर्देशक नोवलकिशोर खनाल थप्नुहुन्छ, ‘हामी कक्षा ८, ९ र १० का विद्यार्थीलाई नियमित पढाइसँगै परीक्षा पूर्वतयारी कक्षा सञ्चालन गर्छौँ । कम्तीमा परीक्षा आउनुभन्दा ३ महिनाअगाडि नै पाठ्यक्रम सकाएर रिभिजन गराउँछौँ । यही सिकाइ क्रियाकलापले पनि होला विद्यार्थीलाई ४ जिपिए ल्याउन सहज भएको छ ।’
पहिले स्थानीय शिखर चौकमा बस्दै आएको यस परिवारले अलि पर र एकान्त ठाउँमा रहेको भनेर आफ्नो सन्तानको लागि ‘शान्त ठाउँ’ विचार गर्दै वाल्मीकि मेमोरियल इङ्लिस बोर्डिङ स्कुल रोजेको बताउनुहुन्छ नेत्रप्रसाद । उहाँले अगाडि थप्नुभयो– ‘सुरुमा हामीले स्कुलको लोकेसन मात्रै हेरेर भर्ना गरेका हौँ । क्रमशः छोराहरू यही स्कुलमा रुचिपूर्वक पढ्न थाले र सबैजसो कक्षामा प्रथम हुँदै प्रगति गर्न थाले । यो उपलब्धिका लागि सम्पूर्ण वाल्मीकि विद्यालय परिवारप्रति हार्दिक आभारी छु ।’
नेत्रप्रसाद र सुनिताको परिवारको यो प्रगतिले प्रमाणित गरिदिएको छ कि– सफलताका लागि साधना र समर्पण नै पहिलो सर्त हो । सादा जीवन, गहिरो सोच र लगातारको अभ्यासको परिणामस्वरूप प्रज्वल र निश्चलले एसईईमा ४ जिपिए त ल्याए नै त्यसभन्दा पनि ठुलो कुरा– यही सफलता समाजमा अरूका लागि पनि एउटा गतिलो सकारात्मक सन्देश सरह निरन्तर प्रवाह भइरहेको छ ।