‘आत्मानन्द कप–२०८२’मा पथरीको सिरिजंगा स्पोर्टिङ क्लब सहभागी हुने

‘आत्मानन्द कप–२०८२’मा पथरीको सिरिजंगा स्पोर्टिङ क्लब सहभागी हुने

इलामको माङसेबुङमा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूको ७२औं जन्मोत्सवको अवसरमा आयोजित अन्तर्राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता ‘आत्मानन्द कप–२०८२’ आगामी मंसिर ७ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने भएको छ।

संयोजक मनप्रसाद आङबुहाङले पत्रकार सम्मेलनमार्फत प्रतियोगितामा नेपाल र भारतका ८ प्रतिष्ठित फुटबल क्लब सहभागी हुने जानकारी दिएका छन्। सहभागी टिमहरूमा नेपालका दमक भाङबारी स्पोर्टिङ युथ क्लब, दुधे युथ क्लब, सिरिजंगा स्पोर्टिङ क्लब पथरी मोरङ्ग , लेटाङ फुटबल क्लब, तिजोक युवा क्लब, माङसेबुङ गाउँपालिका, युथ अफ माङसेबुङ र भारतको कञ्चनजंघा फुटबल क्लब सिलगुडी रहेका छन्।

विजेता टिमले नगद रु. ३ लाख ११ हजार १७२ र उपविजेताले रु. २ लाख ११ हजार १७२ सहित ट्रफी र मेडल पाउनेछन्। उत्कृष्ट खेलाडी, गोलकिपर, डिफेन्स, फरवार्ड, कोच र उदयमान खेलाडीले जनही रु. ८१७२ पाउनेछन् भने म्यान अफ द म्याचलाई रु. ५१७२ प्रदान गरिनेछ।

किरात धर्मगुरुको जन्मोत्सवको अवसरमा फुटबलसँगै म्याराथन, छेलो, धनुबाँड र हाँडी फुटाउने जस्ता खेलहरू पनि आयोजना हुनेछन्। आत्मानन्द कप प्रदेश १ को प्रतिष्ठित वार्षिक फुटबल प्रतियोगिता हो। गत वर्षको उपाधि दुधे युथ क्लब झापाले जितेको थियो।

सम्बन्धित खवर