पथरी
दोस्रो पथरीशनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन, पथरी ११ फुटबल क्लबका खेलाडीहरू मैदानमा केवल जितको लागि होइन, भावनाको लागि पनि उत्रिएका थिए। खेलअघि उनीहरूले विशेष रूपमा २० नम्बरको जर्सी प्रदर्शन गरे त्यो जर्सी, जुन सोनाम गुरुङले लगाउने गर्थे।
सोनाम चार दिनअघि जाते–पथरी सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा गम्भीर रूपमा घाइते भएका छन्। उनी अहिले उपचारका क्रममा बिराटनगरको न्युरो अस्पतालको आइसियु कक्षमा छन । क्लबका मिडफिल्ड र फरवर्ड पोजिसनमा खेल्दै आएका सोनाम, टोलीका युवा र प्रतिभावान खेलाडीका रूपमा चिनिन्थे।उनी ए डिभिजन क्लब सातदोबाटोको यु १८ टिममा सहभागी भै सकेका छन ।
खेल सुरु हुनुअघि टोलीका खेलाडीहरूले सोनामको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनले सधै लगाउने २० नम्बरको जर्सी प्रर्दशन गरे ।फोटो शेसनका क्रममा सौर्य राउतले सोनामको २० नम्बरको जर्सी सबै सामु देखाए । त्यसै उर्जालाई खेलमा परिणत गर्दै, पथरी ११ ले आजको रोमाञ्चक खेलमा ललितपुरको चर्चित ब्रिगेड ब्वाइज क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्यो।
यो जित केवल सेमिफाइनलको यात्रा होइन, यो एउटा समर्पणको जित थियो ।
खेलपछि कप्तानले युकेश तामाङले भने, आजको जित हामीले सोनामकै नाममा समर्पण गरेका हौं।”







