पथरी गोल्डकप: सहलेस सिराहा फाइनलमा, पाँचथर ४–१ ले पराजित

पथरी गोल्डकप: सहलेस सिराहा फाइनलमा, पाँचथर ४–१ ले पराजित

पथरी,  मोरङको पथरीमा जारी दोस्रो ईन्ट्रा अन्तर्राष्ट्रिय आमन्त्रण पथरी शनिश्चरे गोल्डकपमा सहलेस युवा क्लब सिराहाले शानदार जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ। आज भएको पहिलो सेमिफाइनलमा सहलेस सिराहाले पाँचथर फुटबल क्लबलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। तर दोस्रो हाफमा सहलेस सिराहाले आक्रमक खेल प्रस्तुत गर्दै लगातार गोल गर्दै पाँचथरलाई दबाबमा राख्यो। सिराहाका रोहन कार्कीले दुई गोल, रोहन भुजेल र कोमल खवाशले एक–एक गोल गरे। पाँचथरका अभिशेक लिम्बुले एक मात्र सान्त्वना गोल गरे।

उत्कृष्ट प्रदर्शनका आधारमा सहलेसका रोहन कार्की ‘म्यान अफ दि म्याच’ घोषित भए। कार्कीले नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे।

भोलि हुने दोस्रो सेमिफाइनलमा राजधानीको दिग्गज टिम एनआरटी काठमाडौँ र आयोजक पथरी–११ फुटबल क्लब बीच प्रतिस्पर्धा हुनेछ। सो खेलको विजेताले सहलेस सिराहासँग उपाधि भिडन्त गर्नेछ।

प्रतियोगिता पथरीशनिश्चरे नगरपालिका–१, जातेमोडस्थित खेलमैदानमा जारी छ। आयोजक पथरी–११ फुटबल क्लबका अध्यक्ष सुमन बिकका अनुसार विजेताले ५ लाख रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

प्रतियोगिता हेर्न स्थानीय दर्शकको उपस्थिति दिनप्रतिदिन उत्साहजनक बन्दै गएको आयोजकले जनाएको छ।

सम्बन्धित खवर