सिप सिकेर स्वावलम्बनतर्फ : पथरीका तीन फरक तालिमको कथा

सिप सिकेर स्वावलम्बनतर्फ : पथरीका तीन फरक तालिमको कथा

पथरी (२२ असार) /अब पथरीका चिया पसलमा झन् मिठो कफीको सुगन्ध फैलिने, होटेलको भान्सामा अझ स्वस्थ र स्वादिलो पकवान तयार गर्ने तथा युवावर्ग गाडी हाँक्दै आफ्नै भविष्यको यात्रा तय गर्ने दरिलो सम्भावना जोडिँदै छ— पथरीशनिश्चरे नगरपालिकामा शनिबार सम्पन्न ‘बारिस्टा, कुक र ड्राइभिङ तालिम’ मार्फत ।
हिजो औपचारिक रूपमा समापन भएको एक महिने व्यावसायिक तालिम आदिवासी जनजाति लक्षित थियो, जसले समुदायका युवायुवतीहरूलाई आत्मनिर्भरता र सिपको नयाँ बाटो देखाएको छ । पथरीशनिश्चरे नगरपालिकाको आर्थिक सहयाेग र नेपाल आदिवासी जनजाति महासङ्घ समन्वय समिति पथरीशनिश्चरेको आयोजना/ संयोजनमा सञ्चालित उक्त तालिममा बारिस्टा (कफी बनाउने), कुक र ड्राइभिङ गरी तीन विधामा सिप विकास गरियो ।
तालिममा सहभागी युवाहरूको अनुहारमा आत्मविश्वासको चमक थियो । कोहीले पहिलोपटक गाडी चलाए, कोहीले यसै तालिमको आधारमा  सवारी चालक अनुमतिपत्र लिए, कोहीले कफी बनाउने नयाँ काइदा सिके अनि कसैले पहिलोचोटि व्यावसायिक तरिकाले भान्सामा काम गरे । यिनै अनुभवहरूको साझेदारी गर्दै सहभागीहरू भन्दै थिए, “हामी अब रोजगारी माग्ने हैन, दिने ठाउँमा पुग्न सक्छौँ ।”


प्राविधिक हातेमालो र स्थानीय सहकार्य
आयोजक समितिका अध्यक्ष देवेन्द्र वनेमको अध्यक्षतामा भएको तालिममा जिल्ला उद्यमी समूह सङ्घ मेचीनगर, झापाले प्राविधिक सहयोग पुर्‍याएको थियो भने नेम्वाङ ड्राइभिङ सेन्टरले ड्राइभिङको व्यावहारिक ज्ञान प्रदान गर्‍यो । सहभागीहरूले गाडी चलाउन सिक्नु मात्र होइन, १० जनाले त सवारी चालक अनुमति पत्र (लाइसेन्स) पनि प्राप्त गरिसकेका छन् ।
कार्यक्रम संयोजक देवेन्द्र वनेमका अनुसार, “यस किसिमका तालिममार्फत समुदायको युवाशक्ति रोजगारीतर्फ मात्र होइन, उद्यमशीलतामा पनि आकर्षित हुने आधार तयार गरिरहेको छ ।”

समापन समारोह : सम्मान, बधाई र भविष्यप्रति आशा
एक महिनाको कठिन श्रम र अभ्यासपछि जब प्रमाणपत्र प्रदान गरियो, त्यो क्षण सहभागीहरूको लागि केवल कागजको टुक्रा प्राप्ति थिएन; त्यो उनीहरूको सङ्घर्ष, सिप र सम्भावनाको चिह्न थियो । समापन समारोहमा नगरप्रमुख मोहन तुम्बापो, फोनिज सङ्घीय उपाध्यक्ष अर्जुन जम्नेली राई, धिमाल जातीय विकास केन्द्रका सचिव रोमान्सी धिमाल, बारिस्टा तालिम कार्यक्रम संयोजक दयालाल (डीएल) राजवंशीलगायतको मन्तव्य थियो । अतिथिहरूले सहभागीहरूलाई बधाई दिँदै आफूले सिकेका सिपलाई पेसामा बदल्न प्रेरणा प्रदान गर्नुभयो ।

एक पाइलो आत्मनिर्भरतातर्फ
आजको प्रतिस्पर्धी बजारमा सिप भएको मानिसले आफ्नो भविष्य आफैँ बनाउने क्षमता राख्छ भने यस्तो तालिममार्फत समुदायभित्रै बसेर पाएको ज्ञानले युवाहरूलाई वैदेशिक रोजगारको विकल्पमा स्वदेशमै अवसर देख्न सिकाएको छ । आदिवासी जनजाति नगर महासङ्घका उपाध्यक्ष राजेन्द्र गुरुङ भन्नुहुन्छ, “हामीले सुरुवात गर्‍यौँ, अब निरन्तरता दिनुपर्छ । हिजो सिपहीन युवाहरू आज दक्ष बनिसकेका छन्, भोलि तिनले अरूलाई पनि तालिम दिन सक्नेछन् ।”
पथरीशनिश्चरे नगरपालिकाको यो प्रयास एउटा उदाहरण हो, जहाँ स्थानीय सरकार, संस्थागत साझेदार र समुदायले मिलेर युवाहरूलाई आत्मनिर्भर बनाउने दृढ कदम चालेका छन् । सिप विकासका यस्ता कार्यक्रमहरू केवल रोजगारका लागि मात्र नभई सामाजिक रूपान्तरणका लागि पनि एक महत्वपूर्ण मोड मानिन्छ । (केशव निरौला)

सम्बन्धित खवर