अर्जुन काफ्ले, पथरी
सिरहाको सलहेस युवा क्लब दोश्रो इन्ट्रा पथरीशनिश्चरे गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मोरङ्गको पथरी स्थित पथरी रंगशालामा शनिवार भएको उद्घाटन खेलमा सलहेसले भारतको सिलगुडी कञ्चनजङ्घा फुटबल क्लवलाई ५–१ गोल अन्तरले पराजित गरेको हो । विदेशी खेलाडी रिर्चाड विल्सनको ह्याट्रिकको मद्धतले सलहेसले कञ्चनजङ्घालाई एकतर्फी खेलमा पराजित गरेको हो । खेलको ७ औँ मिनेटमा सलहेसका लागि आदित्य शाक्यले गोल गरे ।

सलहेसले पहिलो हाफ सम्म ३–० गोलको अग्रता बनायो । जसमा २४ औँ मिनेटमा रिर्चाडले व्याक्तिगत पहिलो र टिमका लागि दोश्रो गोल गरे । त्यसको ४ मिनेटपछि सुजन डङ्गोलले गोल गर्दै टिमको अग्रता ३–० बनाए । खेलको ५९ औँ मिनेटमा रिर्चाडले व्याक्तिगत दोश्रो गोल गर्दा सलहेसले ४–० गोल अग्रता बनाएको थियो । खेलको ६२ औँ मिनेटमा कञ्चनजङ्घाका प्रनिस प्रधानले गोल गर्दै टिमका लागि सान्तवना गोल गरे । अतिरिक्त समयको पहिलो मिनेटमा रिर्चाडले ह्याट्रिक पुरा गर्दै सलहेसको स्पष्ट जित निकाले । खेलको म्यान अफ दि म्याच सलहेसका रिर्चाड घोषित भए ।
पथरी–११ फुटबल क्लबको आयोजनामा सुरु भएको गोल्डकपको उद्घाटन पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले गरेका थिए ।
भिडियो
https://www.facebook.com/reel/785560484287188
गोल्डकपको विजेताले नगद ५ लाख र ट्रफि प्राप्त गर्ने छ भने उपविजेताले २ लाख ५० हजारमा चित्त बुझाउने छ । नेपाल र भारतका गरि ८ टोलीको सहभागीता रहेको गोल्डकप कार्तिक २२ सम्म सञ्चालन हुनेछ । आइतवार हुने दोस्रो खेलमा आयोजक पथरी–११ फुटबल क्लब र गत संस्करणको विजेता ब्रिगेड ब्वाइज क्लवबिच प्रतिस्पर्धा हुनेछ।







