किन सुस्ताइरहेछ सामाजिक सञ्जालमा चर्चा ?
– केशव निरौला
पथरी (२१ असार)/अघिल्लो शुक्रबार बिहानैदेखि एसईईको नतिजा सार्वजनिक हुने चर्चा परिचर्चाले सामाजिक सञ्जाल निकै तरङ्गित थियो । नतिजा सार्वजनिक भएलगत्तैदेखि अझ बढी सामाजिक सञ्जालको गतिविधि बढ्न थाल्यो । सरोकारिता सबैको भावना, प्रतिक्रिया, गुनासा, व्यङ्ग्य, उत्सव, निराशा र चर्चाहरू यही सञ्जालमा उर्लिए । भावनात्मक विस्फोटको ‘डिजिटल थलो’ मानिएका फेसबुक, टिकटक, ट्विटर, इन्स्टाग्राम र युट्युब आदिमा यही नतिजा तरङ्गित हुँदै अहिले सुस्ताएको पाइन्छ ।
अघिल्लो शुक्रबार अबेर सार्वजनिक भएको नतिजाको पहुँचमा क्रमशः मोरङको पथरीशनिश्चरेका विद्यालय पनि पुग्न थाले ।
सामाजिक सञ्जाललाई नै प्लेटफर्म बनाएर यहाँका ‘टिम्मा न्युज’, ‘पथरी अपडेट’, ‘पूर्वेली खबर’ लगायतले चाँडोचाँडो अपडेट गरिरहे । त्यसपछि नगरभित्रका विद्यालयहरूले क्रमशः आफ्नो विद्यालयको नतिजा सार्वजनिक गर्न थाले । नगरपालिकाले भने यहाँका सबै विद्यालयको नतिजा विश्लेषण गरेर आधिकारिक रूपबाट आइतबार नतिजा विवरण सार्वजनिक गर्यो । पालिकाबाट सार्वजनिक भएको उक्त नतिजा विश्लेषण विवरणका आधारमा पनि अब कक्षा ८ को जस्तै सामाजिक सञ्जालमा ठुलो चर्चा छाउने आशा बढेको थियो तर सञ्जालमा खासै चर्चा भएको पाइएन ।
विगतमा के भयो र ?
नगरपालिकाबाट गत चैतमा मात्रै सार्वजनिक भएको कक्षा ८ को परीक्षाफलले सामाजिक सञ्जालमा ठुलो ‘हलचल’ नै ल्याएको थियो । पहिलो पटक व्यवस्थित तबरबाट लिइएको उक्त परीक्षाको नतिजा सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमार्फत नतिजाबारे सकारात्मकभन्दा पनि आलोचनात्मक टिप्पणी बढी आयो । यसले खासगरी नगरका केही सामुदायिक विद्यालयको शिक्षाअवस्था नै ‘स्वाहा’ भएको हो कि भन्ने भय पैदा गरिरहेको थियो । जताततै शिक्षासम्बद्ध सरोकारिता पक्षको आलोचनामा प्रत्यक्ष एवम् परोक्ष सक्रियता बढिरहेको थियो । संस्थागत विद्यालयको तुलनामा कतिपय सामुदायिक विद्यालयका प्रत्यक्ष सरोकारित शिक्षकलाई लक्षित गरेर चलाइएको व्यङ्ग्यवाण राम्ररी सेलाउन नपाउँदै पछिल्लो एसईई (कक्षा १०) को नतिजा प्रकाशन भएको हो ।
एसइई नतिजामा कस्तो देखियो ?
एसइई (२०८१) को नतिजाअनुसार पथरीशनिश्चरेको नतिजा उत्कृष्ट र विशिष्ट देखिएको छ । नगरबाट सहभागी कुल विद्यार्थीमध्ये ८९.२७ प्रतिशत ग्रेडेड (उत्तीर्ण) भएका छन् । सामुदायिक विद्यालयतर्फ ६२.७३ प्रतिशत र संस्थागततर्फ ९५.८२ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । यो भनेको कक्षा आठको तुलनामा स्तरीय र सुधारिएको नतिजा हो । सामुदायिक विद्यालयमै बुद्ध माविले शतप्रतिशत र पञ्चायत माविले उत्कृष्ट नतिजा सार्वजनिक गरेकोे विषयले पनि त्यति धेरै सञ्जालमा महत्त्व नपाएको आभास हुन्छ । यी सामुदायिक विद्यालयसँगै जिल्लामा उत्कृष्टताको नाम दर्ज गर्न सफल वाल्मीकि मेमोरियल स्कुल लगायतका संस्थागत विद्यालयले आफूलाई धेरै तरिकाबाट अब्बल साविता गरेका छन् । अब्बलताका प्रमुख आधार र सोमा पर्न सफल विद्यालयहरू :
१. वाल्मीकि स्कुल : उत्कृष्टताको प्रतीक
यस वर्षको एसईईको नतिजामा यस विद्यालयबाट २ जनाले चार जिपिए ल्याएका छन् । विद्यालयका प्रिन्सिपल चन्द्रप्रसाद दुलालका अनुसार वाल्मीकि स्कुलबाट निश्चल न्यौपाने र आयुष्मा दाहालले ४ जिपिए ल्याएका हुन् । वाल्मीकिको यही नतिजाका आधारमा जिल्लामै विराटनगरबाहिर पथरीशनिश्चरे ४ जिपिए ल्याउने सफल पालिका बनेको हो । शिक्षा विकास तथा समन्वय इकाइ मोरङका अनुसार जिल्लाबाट जम्मा ८ विद्यालयका १८ जना विद्यार्थीले ४ जिपिए ल्याएका छन् । यिनमा ७ ओटा (आदर्श, विकेभिएम, पोखरिया, एभरेस्ट, सगरमाथा, जेम्स र कान्तिपुर) विराटनगरका विद्यालय हुन् भने एउटै मात्र पथरीशनिश्चरेको वाल्मीकि मेमोरियल स्कुल हो । यहाँबाट भर्खरैको कक्षा ८ को परीक्षामा पनि तीन जना (अभिप्सा विष्ट, प्रतीक्षा खत्री र राशी कार्की) ले ४ जिपिए ल्याएका थिए ।
२. पञ्चायत मावि : सामुदायिक शिक्षाको गौरव
अहिलेकाे एसईईको नतिजामा पथरीशनिश्चरेका सामुदायिक विद्यालयमध्ये सबैभन्दा बढी जिपिए पञ्चायत माविका विद्यार्थीले ल्याएका छन् । पञ्चायत माविबाट अमूल्य घिमिरे र संविधान लिम्बूले समान ३.९६ जिपिए ल्याएका हुन् । यस्तै स्पर्श तिम्सिनाले ३.८९, विनम थापाले ३.८६ र पुरुषोत्तम भट्टराई र सुधीर बस्नेतले समान ३.८० जिपिए प्राप्त गरेको विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले जानकारी दिनुभयो । नगरबाट सहभागी ११ ओटा सामुदायिक विद्यालयमध्ये यस पञ्चायत माविले विगतका वर्षदेखि नै सर्वोत्कृष्ट नतिजा ल्याइरहेको छ ।
३. शतप्रतिशत नतिजा : प्रेरणाका छ ओटा नामहरू
२०८१ सालको एसईई नतिजामा पथरीशनिश्चरेका ६ ओटा विद्यालयले शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएका छन् । साविक पथरी, शनिश्चरे र हसन्दह गाविसको दृष्टिकोणबाट हेर्ने हो भने शनिश्चरे क्षेत्रका ४ ओटा विद्यालयले शतप्रतिशत नतिजा ल्याएका छन् भने पथरी क्षेत्रबाट दुइटा विद्यालय दर्ज भएका छन् । शनिश्चरे क्षेत्रबाट प्याराडाइज स्कुल (१४ जना), बाल जागरण विद्या मन्दिर (२८ जना), बाल नमुना विद्या मन्दिर (९ जना) र बुद्ध माविका (६६ जना) सबै विद्यार्थी ग्रेडेड भएका हुन् भने पथरी क्षेत्रको वाल्मीकि मेमोरियल माविका (७० जना) र प्यागोडा मोडलका (२० जना) सबै विद्यार्थी सफल भएको नगरपालिकाद्वारा सार्वजनिक गरिएको नतिजा विवरणमा उल्लेख छ ।
४. प्राविधिक शिक्षा : शतप्रतिशत नतिजा
माध्यमिक शिक्षा परीक्षा (एसईई २०८१)को नतिजामा पथरीशनिश्चरे–१ मा रहेको पञ्चायत माविले प्राविधिक धारतर्फका सबै विद्यार्थीलाई ग्रेडेड (उत्तीर्ण) गराउन सफल भएको छ । नेपाल सरकारले तोकेको प्राविधिक धारको कुल ४८ कोटामा रहेका सबै परीक्षार्थी ग्रेडेड भएको विद्यालयको प्राविधिक धार संयोजक इन्जिनियर कमल भट्टराईले जानकारी दिनुभयो ।
५. एकजना विद्यार्थी मात्रै ननग्रेडेड भएका विद्यालयहरूमा एभरेस्ट, न्यु पेगोडा, अरुणोदय, केबी मेमोरियल र ब्राइट सनराइज स्कुल
भर्खरै सार्वजनिक भएको एसईई नतिजामा नगरका पाँचओटा विद्यालयबाट केवल एक जनामात्र ननग्रेड भएको पाइन्छ । एभरेस्टबाट ४९, न्यु पेगोडाबाट २८, अरुणोदयबाट ३१, केबी मेमोरियलबाट ५ र ब्राइट सनराइजबाट २२ जना ग्रेडेड हुँदा प्रत्येक विद्यालयका १ जनामात्रै ननग्रेडेड भएका हुन् ।
६. अन्य विद्यालयकाे अवस्था पनि राम्राे
सामुदायिक विद्यालयमा सिंहवाहिनीकाे ६२.६९, दुर्गाकाे ६६.६७, चन्द्रकिरातेश्वरकाे ६६.६७, बालकल्याणाकाे ६४, सुगाहाट ८८.२४, अमरसिंह ६५.०८, जनता ७७.९२, भागीरथ ४७.७३ र सुनाखरीबाट २२.२२ प्रतिशत ग्रडेड भएका छन् । यस्तै संस्थागतबाट अन्नपूर्ण ९२.५०, रेडस्टार ९७.२६, माेरङ मेरिगाेल्ड ९०.९१, भूपू सैनिक ८६.२१ र कञ्चनजंघा स्कुलबाट ८३.३३ प्रतिशत विद्यार्थी ग्रेडेड भएकाे नगरपालिकाबाट जारी नतिजा विवरणमा उल्लेख छ ।
अत : पथरीशनिश्चरे नगरपालिकाका विद्यालयहरूको हालै सार्वजनिक एसईई (२०८१) नतिजाले समग्रमा सकारात्मक सुधार देखाएको छ । नगरस्तरीय विश्लेषणअनुसार कुल ८९.२७ प्रतिशत विद्यार्थी उत्तीर्ण हुनु भनेको उल्लेख्य प्रगतिको परिणाम हो । वाल्मीकि मेमोरियल स्कुलले जिल्लामै विशिष्ट उपस्थिति जनाउँदै दुई जना विद्यार्थीमार्फत ४ जिपिए ल्याउने विद्यालयको हैसियत बनाएको छ। त्यस्तै, सामुदायिक विद्यालय पञ्चायत माविले समेत उत्कृष्ट नतिजा दिँदै गौरव थपेको छ। छ वटा विद्यालयले शतप्रतिशत नतिजा ल्याएको सन्दर्भले नगरको समग्र शैक्षिक प्रगतिमा उत्साहजनक सन्देश दिएको छ । प्राविधिक धारमा पनि पञ्चायत माविले सबै विद्यार्थीलाई ग्रेडेड गराउन सफल भएको छ।
यति सशक्त र सुधारिएको नतिजा हुँदाहुँदै पनि सामाजिक सञ्जालमा यसबारे अपेक्षित चर्चा नहुनु अचम्मको विषय हो । सकारात्मक उपलब्धिलाई पनि उचित प्रचार र सम्प्रेषण गर्न सके यहाँका विद्यालय, विद्यार्थी र पालिकालाई समेत थप प्रेरणा मिल्थ्यो कि ? जसको परिणाम स्वरूप पथरीशनिश्चरे पालिकालाई नै एउटा गतिलो ‘शैक्षिक हब’को रूपमा विकास गर्न सकिन्थ्याे कि ?