मोरङ, नेपालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. भोलाप्रसाद रौनियारले विराटनगरको कञ्चनबारीस्थित नोबेल मेडिकल कलेजमा सेवा दिने भएका छन् । अब क्यान्सर उपचारको खोजीमा रहेका बिरामीहरूले अनुभवी विशेषज्ञ रौनियारको सेवा पाउन सक्ने भएका छन्।
डा. रौनियार नेपालका प्रतिष्ठित फिजिसियन तथा मेडिकल अङ्कोलोजिस्ट हुन्, जसले क्यान्सर उपचारको क्षेत्रमा चार दशकभन्दा बढी समय समर्पण गरेका छन् । उनी नेपालमा मेडिकल अङ्कोलोजी अभ्यास सुरु गर्ने प्रारम्भिक चिकित्सकमध्ये एक हुन्। लामो समयसम्म उनले भरतपुरस्थित बी.पी. कोईराला मेमोरियल क्यान्सर अस्पतालमा सेवा गरे र त्यहाँको मेडिकल अङ्कोलोजी विभाग प्रमुखको जिम्मेवारी पनि सम्हालेका थिए।
उनको विशेषज्ञता स्तन, डिम्बाशय, फोक्सो लगायतका ठूला ट्युमरहरूको उपचारमा केन्द्रित छ। लक्षित चिकित्सा इम्यूनोथेरापी, फैलिएको क्यान्सरको उपचार तथा जीवन गुणस्तर सुधार गर्ने पालीएटिभ केयरमा उनी विशेष दक्ष हुन्। साथै, किमोथेरापीको असरस्वरूप देखिने जटिलता र साइड इफेक्टहरूको व्यवस्थापनमा पनि उनको अनुभव अत्यन्तै उपयोगी छ।
डा। रौनियारको समावेशसँगै नोबेल क्यान्सर अस्पताल क्यान्सर उपचारको क्षेत्रमा अझै सशक्त बनेको छ। पूर्वी नेपालका बिरामीहरूका लागि राजधानीसम्म धाउनुपर्ने बाध्यता हट्दै, स्थानीय स्तरमै गुणस्तरीय उपचार सेवा सुनिश्चित हुने अपेक्षा गरिएको छ।
यससँगै नोबेल मेडिकल कलेजले बिगत केही महिनादेखि नेपालमै पहिलोपटक रेडिएसन थेरापीसहितको अत्याधुनिक प्रविधि प्रयोग गरी क्यान्सर उपचार सुरु गरेको छ। करिब ३ अर्ब ४० करोड रुपैयाँको लगानीमा निर्माण गरिएको नयाँ भवनमा अत्याधुनिक उपकरण, दक्ष चिकित्सक र सहकर्मीहरूमार्फत सेवा विस्तार गरिएको हो।