– केशव निरौला
पथरी (असार २१) / केही एकाध पालिकाबाहेक सबैजसो पालिकामा स्थानीय पाठ्यक्रमका आधारमा मात्रै पठनपाठन गर्नुपर्ने बाध्यता रहिरहेको अवस्थामाझ अहिले मोरङको पथरीशनिश्चरे नगरपालिकाले भने स्थानीय पाठ्यपुस्तककै आधारमा शिक्षण सिकाइ क्रियाकलाप अगाडि बढाउन सफल भएको छ । हाल कक्षा १ देखि ५ सम्मका ‘हाम्रो पथरीशनिश्चरे’ नामक स्थानीय पाठ्यपुस्तक प्रकाशन भई विद्यार्थीले पढिरहेका छन् ।
कक्षा ५ सम्मका ती पाठ्यपुस्तक सरोकारित सबै पक्षको हातमा पुगिरहँदा धेरै पाठखण्डमा थुप्रै गल्ती पनि भेटिन सुरु भएको छ । सरोकारित पाठकवर्गले पुस्तकमा पाउनुभएका गल्तीहरूलाई सुझाबको रूपमा सार्वजनिक गर्दै हुनुहुन्छ । कसैले सामाजिक सञ्जालमार्फत र कसैले लेखकवर्गलाई व्यक्तिगत फोन एवम् मेसेन्जरमार्फत सुझाब दिइरहनुभएको बुझिन्छ । पुस्तकमा पाइएका ती गल्तीहरूले कतिपय विषयसन्दर्भमा उल्टो अर्थसमेत हुने सरोकारित पाठकका सामाजिक सञ्जालमा देखिएका प्रतिक्रियाबाट थाहा हुन्छ । यसर्थ यस्तो समस्यालाई कसरी समाधान गर्ने भनेर नगरको शिक्षा, युवा तथा खेलकुद शाखासँग जिज्ञासा राख्दा शाखा प्रमुख नवीन खुलाल बुढाथोकीले भन्नुभयो– ‘पाठ्यपुस्तक प्रकाशन गर्नु भनेको एउटा कठिन कार्य नै हो । यस्तो कठिन कार्यमा सफलता मिले पनि अहिले धेरै विषयवस्तुमा गल्ती भएको कुरा सरोकारित पक्ष र शुभेच्छकबाट प्रतिक्रिया आइरहेको छ । यस्तो अवस्थामा गल्ती सच्याएर अघि बढ्नुको कुनै विकल्प छैन ।’
गल्ती सच्याएर अघि बढ्ने सन्दर्भमा तत्काल के काम गर्न सकिन्छ त भन्ने जिज्ञासामा शाखा प्रमुख बुढाथोकीले थप्नुभयो– ‘तत्काल पत्ता लागेका गल्तीबाट विद्यार्थीले गलत विषयवस्तु नपढून् भन्नका लागि विषयशिक्षकलाई सही विषयवस्तु यकिन गरी सोहीअनुसार अध्यापन गर्नका लागि सम्पूर्ण विद्यालयमा परिपत्र जारी गर्छाैँ । साथै पत्ता लागेका गल्ती तत्काल सच्याउँदै पुनः अर्को संस्करण प्रकाशन गर्ने प्रक्रिया पनि अघि बढाउँछौँ ।’ कक्षा ५ सम्मका पाठ्यपुस्तकमा निकै गल्ती देखिएपछि पालिकासहित लेखक एवम् सम्पादक समूह कक्षा ६, ७ र ८ को पाठ्यपुस्तकमा थप गम्भीर बनेको पाइन्छ ।
छपाइका लागि प्रेसमा पठाउन लागिएका कक्षा ६, ७ र ८ का पाठ्यपुस्तकमा पनि धेरै गल्ती हुनसक्ने सम्भावनामाझ अहिले तत्काल छाप्न रोक लगाइएको नगर शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बुढाथोकीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘सबै काम सकेर कक्षा ६–८ को पाठ्यपुस्तक छपाइका लागि प्रेसमा पठाउन ठिक्क पारिएकामा अहिले पुनः भाषिक त्रुटि हेर्ने काम भइरहेकाे छ । लेखक एवम् सम्पादक समूहले अझ बढी शुद्धाशुद्धी हेरेर मात्र ती कक्षाको पाठ्यपुस्तक छापिने तयारी भएको छ ।’ नगरकै एउटा ‘शैक्षिक गौरव’ मानिने ‘हाम्रो पथरी शनिश्चरे’ नामक पाठ्यपुस्तकमा तत्काल प्राप्त गल्तीबारे लेखन समितिका एक सदस्यले भन्नुभयो– ‘शब्दशब्द गनेर पुस्तकको आकार दिने काम धेरै कठिन रहेछ । त्यसमा पनि एकैपटक कक्षा १ देखि ८ सम्मकै जुन काम गर्न थालियो अलि बढी नै लोड भयो । कडा मिहेनत गर्दागर्दै पनि पाठ्यपुस्तकमा रहेन गएका गल्तीलाई तत्काल सच्याउनका लागि सरोकारित सबै पक्षको रचनात्मक प्रतिक्रियासहित पूर्ण साथसहयोग आवश्यक ठान्दछु ।’
स्मरणीय नै छ, २०७८ सालमा ‘हाम्रो पथरीशनिश्चरे’ नामक स्थानीय पाठ्यक्रमको मस्यौदा गर्नका लागि ऋषिराज धिमाल, डिल्लीराज दाहाल, रोहिणीप्रसाद घिमिरे र दुर्गादेवी दङ्गालसहितकोे चार सदस्यीय स्थानीय पाठ्यक्रम लेखन समिति बनाएको थियो । उक्त समितिले निरन्तर तीन महिना काम गरेर प्रस्तुत गरेको २२१ पृष्ठको पाठ्यक्रमको आधारमा अहिले पाठ्यपुस्तक निर्माण भएको हो । (यसअघिकाे समाचारमा ‘छपाइ राेकियाे’ भनिएकामा मिलाइएकाे छ ।)