विद्यार्थीले पढ्न थाले ‘हाम्रो पथरीशनिश्चरे’
– केशव निरौला (असार १६)
पथरी/आज दिउँसो पथरीशनिश्चरे–१ मा रहेको पञ्चायत माध्यमिक विद्यालयका विद्यार्थीहरू अचानक हातमा नयाँ किताब पाउँदा निकै उत्साहित थिए । उनीहरूले त्यस किताबमा आफ्नै पथरीशनिश्चरेको प्रतिबिम्ब देख्दा झन् अचम्म माने । झट्ट पल्टाउँदा सबैजसो देखेजानेका चित्रले उनीहरूलाई निकै बेरसम्म आकर्षण गरिरह्यो ।
यो दृश्य केवल पञ्चायत माध्यमिक विद्यालयको होइन । मोरङको पथरीशनिश्चरे नगरपालिकाका सबै सामुदायिक विद्यालयका विद्यार्थीहरूले यतिबेला स्थानीय पाठ्यक्रमअनुसार लेखिएको नयाँ पाठ्यपुस्तक पाइसकेका छन् । संविधानसँगै स्थानीय सरकार सञ्चालन ऐन २०७४, राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ र स्थानीय पाठ्यक्रम निर्देशिका २०७६ अनुरूप नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले प्रकाशन गरेको स्थानीय पाठ्यक्रममा आधारित यस पाठ्यपुस्तकले यहाँका विद्यार्थीहरूलाई आफ्नै परिवेश पढ्न झनै सजिलो बनाएको छ ।
स्थानीय शासन : स्थानीय पाठ्यक्रम
नगर कार्यपालिकाले २०७८ सालमा ‘हाम्रो पथरी शनिश्चरे’ नामक स्थानीय पाठ्यक्रमको मस्यौदा गर्नका लागि ऋषिराज धिमाल, डिल्लीराज दाहाल, रोहिणीप्रसाद घिमिरे र दुर्गादेवी दङ्गालसहितकोे चार सदस्यीय स्थानीय पाठ्यक्रम लेखन समिति बनाएको थियो । उक्त समितिले निरन्तर तीन महिना काम गरेर २२१ पृष्ठको पाठ्यक्रम निर्माण गरेको समितिका सदस्य धिमालले जानकारी दिनुभयो । नगरका तत्कालीन नगरप्रमुख दिलिपकुमार राई भन्नुहुन्छ, “शैक्षिक वर्ष २०७९ देखि कक्षा १–८ मा एकैपटक कार्यान्वयन हुने गरी स्थानीय पाठ्यक्रमबाट पथरीशनिश्चरे नगरपालिकाभित्रका विद्यार्थीहरूले नगरपालिका क्षेत्रभित्रको भौगोलिक, सामाजिक, सांस्कृतिक, आर्थिक, ऐतिहासिक एवम् पर्यावरणीय लगायतका विषयहरूमा व्यावहारिक ज्ञान, सिप तथा क्षमतामा विकास गर्ने अपेक्षा गरेर पाठ्यक्रम निर्माण गरिएको थियो ।’’
शिक्षामा स्थानीयकरणको आभास दिलाउँदै विश्व परिदृश्यमा समायोजन हुन सक्ने नागरिक तयार गर्ने उद्देश्यका साथ पथरीशनिश्चरे नगरपालिकाअन्तर्गतका विभिन्न विषयसन्दर्भ समेटेर तयार गरिएको पाठ्यक्रमको जगमा अहिले पाठ्यपुस्तक निर्माण भएका हुन् । राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ र स्थानीय पाठ्यक्रम निर्देशिका २०७६ ले तोकेको विधि तथा प्रक्रियाका आधारहरू पूरा गरी स्थानीय पाठ्यक्रम तयार गरिएको पाइन्छ ।
कसले लेखे यी किताबहरू ?
नगरपालिकाले ‘हाम्रो पथरीशनिश्चरे’ नामक स्थानीय पाठ्यपुस्तक लेखनका लागि प्रतिस्पर्धात्मक प्रक्रियाबाट १३ जना विज्ञ लेखक छनोट गर्याे । विज्ञहरूमा चेतनाथ पौडेल, ऋषिराज धिमाल, उपेन्द्र बस्नेत, डिल्लीराज दाहाल, रविन भट्टराई, रोहिणीप्रसाद घिमिरे, जानकी चेम्जोङ, हर्कराज जिमी, अर्जुन जम्नेली राई, केशव निरौला, डा. सोमबहादुर धिमाल, टीकाप्रसाद घिमिरे र दुर्गादेवी दङ्गाल रहनुभएको टोलीबाटै ६ जनाको सम्पादन समूह बनाइयो ।
विज्ञ समूहका पौडेल पथरी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख, धिमाल सहप्राध्यापक र बस्नेत उपप्राध्यापक हुनुहुन्छ । दाहाल भागीरथ माविका पूर्वप्रधानाध्यापक हुनुहुन्छ भने भट्टराई उर्लाबारी बहुमुखी क्याम्पसका सहायक प्राध्यापक एवम् जनता माविका सहायक प्रधानाध्यापक हुनुहुन्छ । त्यसै गरी रोहिणी घिमिरे बालकल्याण मावि, चेम्जोङ भागीरथ मावि र जिमी चन्द्रकिरातेश्वर माविका प्रधानाध्यापक हुनुहुन्छ । राई र निरौला भने पञ्चायत माविमा शिक्षणसँगै पत्रकारितामा समेत सक्रिय हुनुहुन्छ । डा. धिमालले सामाजिक विषयसन्दर्भहरूमा खोजअनुसन्धान गरिरहनुभएको छ । यस्तै टीका घिमिरे पञ्चायत मावि र दङ्गाल न्यु पेगोडा स्कुलमा अध्यापनरत हुनुहुन्छ । सम्पादन समूहका सदस्यसमेत रहनुभएका चेतनाथ पौडेल भन्नुहुन्छ– “पाठ्यक्रमअनुसार हामीले बच्चाले बुझेका र चिनेका कुरा लेख्यौँ । स्थानीय संस्कार र संस्कृति, नगरपालिकाभित्रका हाटबजार, यहाँका स्थानीय पेसा, यहाँका सिप र प्रविधि, आसपासका जैविक विविधता, हाम्रा आर्थिक क्रियाकलाप आदिलाई शिक्षाको माध्यम बनाएर प्रस्तुत गर्याैँ ।”
पाठ्यपुस्तक जसले जीवन छुन्छ
स्थानीय पाठ्यक्रमको उद्देश्य केवल ज्ञान प्रदान गर्नु होइन । यसले विद्यार्थीहरूलाई आफ्नो पहिचान, सामुदायिक संरचना, रहनसहन, मौलिक संस्कृति र आधुनिक जीवनशैलीबिचको सन्तुलनबारे सोच्न सिकाउनु पनि हो । आफ्नो जीवनको मूल्य बुझ्न सघाउने यस्ता पाठ्यपुस्तकहरू कक्षा ८ सम्मकै विद्यार्थीले प्राप्त गर्दै छन् । पहिलो चरणमा कक्षा ५ सम्मका विद्यार्थीले प्राप्त गरेका पाठ्यपुस्तक अब चाँडै कक्षा ६ देखि ८ सम्मका विद्यार्थीले पनि पाइहाल्ने नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नवीन खुलालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘कक्षा ६, ७ र ८ का पाठ्यपुस्तकहरू पनि धमाधम छपाइ भइरहेको छ । अबको केही दिनमा विद्यार्थीको हातहातमा पुग्छ ।’
दिउँसो पुस्तक पाउना साथ पञ्चायत माविकी कक्षा ५ मा अध्ययनरत छात्रा कृतिका लकान्द्रीले भनिन्, “अरू किताबमा गाउँका कुरा कम हुन्थे । यो नयाँ किताबमा भने हाम्रो गाउँठाउँको खोला, हामी बोल्ने भाषा र हाम्रो नाचगान पनि रहेछ । यो पढ्न त झन् रमाइलो होला जस्तो छ ।” कक्षाका अन्य विद्यार्थीेले पनि हाम्रो पथरी शनिश्चरे पुस्तकले पढाइमा अझ सहजता थप्ने र जाँगर बढाउने आशाजन्य प्रतिक्रिया दिएका छन् ।
नयाँ पुस्तकले पढ्ने विद्याथीसँगै सहजीकरणकर्ता शिक्षकलाई समेत सहज भएको पाइन्छ । जनता माविकी शिक्षक पूजा दङ्गाल भन्नुहुन्छ– “हामीले पढाउने विषय आफूले अनुभव गरेका र चिनेका हुन्छन् । त्यसैले पढाउन सजिलो भएको छ । बच्चाहरू पनि सजिलै बुझ्छन् ।”
असारमा पो पाठ्यपुस्तक !
अहिले चालु शैक्षिक सत्रको पहिलो त्रैमासिक परीक्षा सञ्चालन भइरहेको छ । हिजाे मात्रै नगरप्रमुख माेहनप्रसाद तुम्बापाे, नगर शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नवीन खुलाल बुढाथाेकी र अन्य सम्पादन समूहकाे उपस्थितिमा पाठ्यपुस्तककाे सामूहिक लोकार्पणसहित विभिन्न विद्यालयका प्रअ तथा प्रतिनिधिले किताब ग्रहण गर्नुभयाे । असारको १५ गतेतिर मात्रै विद्यालयमा ‘हाम्रो पथरी शनिश्चरे’ पाठ्यपुस्तक पुग्न थालेपछि कैयौँ छक्क परेका छन् भने कतिपयले व्यङ्ग्यस्वरूप ‘बरु तिहारपछि विद्यार्थीलाई दिँदा भैहाल्थ्यो नि’ भन्ने गरेको सुनिन्छ । शैक्षिक सत्र सुरु हुँदै पाउनेपर्ने पाठ्यपुस्तक असारमासमा पुर्याउँदा सिकाइमा समस्या पर्दैन ? भनेर शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नवीन खुलालाई प्रश्न गर्दा उहाँले अलि फरक तरिकाबाट प्रस्ट्याउनुभयो । शाखा प्रमुख खुलालले भन्नुभयो– ‘‘हाम्रो लागि पाठ्यपुस्तक लेखन तथा प्रकाशन कार्य एउटा ऐतिहासिक उपलब्धिसमान हो । यो तत्काल लेखिएर प्रकाशन भएको हो । पहिले नै प्रकाशन गरेर पालिकाले स्टक राखेको होइन । स्टक राखिएको भए चाहिँ किन असारमा मात्रै भन्ने हुन्थ्यो । तर, प्रकाशन हुनेबित्तिकै हामीले धमाधम वितरण गरिरहेको हुँदा यसलाई शैक्षिक सत्रको नजरबाट हेर्नु हुँदैन । अहिलेसम्म पाठ्यक्रमको आधारमा शिक्षण सिकाइ गरिरहनु परेको अवस्थामा अब पाठ्यपुस्तकमार्फत अझ प्रभावकारी हुने विश्वास लिएको छु ।’’ पूरै हतारहतार गरिएको काममा गल्ती पनि त होलान् नि भन्ने सबालमा उहाँले भन्नुभयो– ‘‘पाठ्यपुस्तकमा भएका वा हुन सक्ने गल्तीहरू पहिचान गरेर क्रमशः आगामी संस्करणहरूमा सुधार गर्दै लगिने छ ।’’
केही एकाध पालिकाबाहेक सबैजसो पालिकामा स्थानीय पाठ्यक्रमका आधारमा मात्रै पठनपाठन गर्नुपर्ने बाध्यता रहिरहेको अवस्थामा पथरीशनिश्चरे नगरपालिकाले एउटा ऐतिहासिक उपलब्धिमूलक काम गरेको बुझाइ छ– नेपाल शिक्षक महासङ्घ पथरीशनिश्चरे नगर समिति अध्यक्ष अर्जुनकुमार बुढाथोकीको । अध्यक्ष बुढाथोकीले अगाडि भन्नुभयो– ‘निश्चय पनि स्थानीय पाठ्यक्रमले बालबालिकालाई आफ्नो पहिचानप्रति गर्व गर्न सिकाउँछ । आफ्नै भाषा, लिपि, सिप र परम्परा पढ्न पाउनु केवल शैक्षिक अधिकार नभई भावनात्मक सम्बन्ध पनि हो । यस नगरले सह्राहनीय कार्य गरेकाे छ ।’
पथरीशनिश्चरे नगरपालिकाको यो प्रयास केवल शैक्षिक नवप्रयोग मात्र नभई एउटा सांस्कृतिक जागरणको गतिलो अभियान पनि हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशि राई भन्नुहुन्छ- “हामी यो पाठ्यपुस्तकलाई पूर्ण रूपमा लागु गर्दैछौँ । बालबालिकाको सिकाइ वातावरणलाई स्थानीय बनाउन सकिए मात्र सिकाइ अझ गहिरो हुन्छ भन्ने हाम्रो विश्वास छ ।” राष्ट्रिय पाठ्यक्रममा प्रायः छुटेका तर समुदायको जीवनशैलीसँग गाँसिएका विषयलाई औपचारिक शिक्षा प्रणालीमा समेट्ने यो प्रयासको दीर्घकालीन परिणाम हेर्न भने समय कुर्नुको विकल्प छैन ।