मोरङको पथरीशनिश्चरे नगरपालिकामा बदलिँदो वातावरण र सरसफाइको अवस्था

मोरङको पथरीशनिश्चरे नगरपालिकामा बदलिँदो वातावरण र सरसफाइको अवस्था

भीमराज अधिकारी, पथरी
२०८१ असार ४ गते
मोरङ जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित पथरीशनिश्चरे नगरपालिका द्रुत गतिमा शहरीकरण भइरहेको एउटा महत्त्वपूर्ण पालिका हो । पूर्वी नेपालको प्रमुख व्यापारिक केन्द्र विराटनगरबाट नजिकै भएकाले यहाँ जनसंख्या वृद्धि र शहरी विकासले गति लिएको छ । यससँगै यहाँको वातावरण र सरसफाइको अवस्थामा पनि उल्लेख्य परिवर्तनहरू आइरहेका छन् ।

बदलिँदो वातावरणीय परिदृश्य
पहिले धान खेत र वनजंगलले ढाकिएको पथरीशनिश्चरे क्षेत्रमा अहिले अग्ला भवनहरू, पक्की सडकहरू र व्यापारिक प्रतिष्ठानहरूले ठाउँ लिँदैछन् । यस शहरीकरणले केही सकारात्मक प्रभावहरू पारेको छ भने वातावरणीय चुनौतीहरू पनि खडा गरेको छ ।

सकारात्मक परिवर्तनहरू 
नगरपालिकाको वडा नम्बर २ ले शहरी सौन्दर्यकरणका लागि सडक किनारमा वृक्षारोपण र केही सार्वजनिक स्थानमा पिउने पानीको व्यवस्थापनको प्रयास गरिरहेको छ । वडामा रहेका सडकहरूलाई नम्बरीकरण गरेर वडावासी र बाहिरबाट आउनेहरूका लागि सहजता प्रदान गर्ने प्रयास पनि गरेको छ । नगरको वडा नम्बर १ र २ शहरी क्षेत्रमा पर्छन् । तुलनात्मक रुपमा वडा नम्बर दुईले जति काम गरेको छ एकले त्यति गर्न सकिरहेको छैन् । तर दुवै वडाहरू आफ्नो वडामा डस्विन राख्ने र फोहोर सङ्कलन गर्ने कार्य भने गरिरहेका छन् ।

चुनौतीहरू 
शहरी विकासका लागि वनजङ्गल फडानी हुनुले जैविक विविधतामा ह्रास आइरहेको छ । यसले स्थानीय वन्यजन्तु र चराचुरुङ्गीको वासस्थानमा असर पारेको छ भने पथरी शहरका लागि पानीको मुहान रहेको स्थानमा प्रत्यक्ष असर पारेको छ । वनजङ्गलमा नीतिगत रुपमै राखेर पक्कि संरचना निर्माण गरिँदा यहाँको पारिस्थितिक प्रणालीलाई नै खलल पु¥याउने अवस्था देखिन्छ ।

बढ्दो सवारी साधन, धुलो र औद्योगिक गतिविधिले हावाको गुणस्तरमा नकारात्मक असर पारेको छ । विशेषगरी, सुख्खा मौसममा धुलो र धुवाँको समस्या अझ बढी देखिन्छ । वन क्षेत्रमा फोहोरमा बेलाबेला आगो लगाउदा पथरी बजारमा बस्नै नसक्ने स्थिति सिर्जना हुन्छ । यसले बालबालिकाको मस्तिष्कमा प्रत्यक्ष प्रभाव पारेको छ भने फोक्सो सम्बन्धी रोग रहेका मानिसलाई त मृत्युको मुखमै पु¥याउने अवस्था सिर्जना हुन्छ ।

अव्यवस्थित शहरीकरण र भूमिगत जलको अत्यधिक प्रयोगले जलस्रोतमा पनि चाप परेको छ । यसले गर्दा केही स्थानमा पानीको सतह घट्दै गएको गुनासो पनि सुनिन्छ । पहिले पथरी बजार छेउका बस्ति अर्थात् पथरी बहुमुखी छेउछाउमा जमिनबाट निरन्तर पानी आउने अवस्था थियो तर अहिले ती पानीका मुहानहरू सुक्दै गएका छन् । केहि कलहरूमा त पानी नै नआउने अवस्था पनि छ । यसरी हेर्दा भविष्यमा भूमिगत जलस्रोतको सङ्कट आउनसक्ने अवस्था पनि देखिन्छ, यसका लागि अहिलेबाट नै हामी सतर्क हुनुपर्दछ ।

खेतबारी प्लटिङ गरी घडेरीका रूपमा बिक्री हुनुले कृषि भूमिमा कमी आएको छ, जसको दीर्घकालीन असर खाद्य सुरक्षामा पर्न सक्छ । पथरी बजार क्षेत्रमा त कृषि जमिन अब बाकी नै छैन् । केही स्थानका थोरै थोरै जमिन छन् तर अब ति पनि कृषि उपयोगका लागि नभएर घडेरीका लागि मात्रै बाकी छन् । ग्रामिण भेगमा भएका जमिनहरू पनि धमाधम प्लटिङ भइरहेका छन्, यसले कालान्तरमा भोकमरी निम्त्याउन सक्छ त्यसैले अहिलेबाट नै सतर्क हुन अवश्यक छ ।

सुधारका प्रयासहरू
पथरीशनिश्चरे नगरपालिकाको सरसफाइ व्यवस्थापनमा सुधारका प्रयासहरू भइरहे पनि फोहोर व्यवस्थापन एउटा गम्भीर चुनौतीका रूपमा कायमै छ । तथापी नगरमा केही सुधारका प्रयासहरू पनि भइरहेका छन् । नगरपालिकाले सबैजसो वडामा घर–घरबाट फोहोर सङ्कलन गर्ने प्रणालीलाई व्यवस्थित बनाउन प्रयास गरिरहेको छ । यसले फोहोर सडकमा फाल्ने प्रवृत्तिमा केही कमी ल्याएको छ तर अझैपनि गाउँघरमा फोहोरलाई जलाउने प्रकृति देखिन्छ यसले त्यस क्षेत्रमा मानिसको स्वस्थ्यमा गम्भीर समस्या निम्त्याउन सक्छ ।

विभिन्न संघसंस्था र स्थानीय समुदायको सहकार्यमा बेलाबेलामा सरसफाइ अभियानहरू सञ्चालन गरिन्छ, जसले जनचेतना अभिवृद्धि गर्न मद्दत गर्छ । दीर्घकालीन फोहोर व्यवस्थापनका लागि ल्यान्डफिल साइट निर्माणको योजना अगाडि बढेको छ, जसले फोहोरको उचित व्यवस्थापनमा मद्दत पुग्ने अपेक्षा गरिएको छ।

प्रमुख चुनौतीहरू
नगरपालिकाको फोहोर व्यवस्थापन अझै कमजोर छ र फोहोर वन क्षेत्रमा लगेर डम्पिङ गर्ने गरिएको छ। यो अभ्यासले गम्भीर वातावरणीय र मानवीय स्वास्थ्य समस्या निम्त्याएको छ। वनमा जथाभावी फालिएको फोहोरबाट निस्कने दुर्गन्ध, हानिकारक ग्यास र प्रदूषणले स्थानीय बासिन्दाको स्वास्थ्यमा प्रत्यक्ष नकारात्मक असर पारिरहेको छ। यसले विभिन्न श्वासप्रश्वाससम्बन्धी रोग, छालाको संक्रमण र अन्य स्वास्थ्य समस्या निम्त्याउन सक्छ। वनमा फोहोर डम्पिङ गर्दा माटो र पानी प्रदूषण हुन्छ । यसले जैविक विविधतामा नकारात्मक असर पार्छ, वन्यजन्तुको वासस्थान नष्ट गर्छ र समग्र पारिस्थितिक प्रणालीलाई बिगारिरहेको छ । फोहोर सङ्कलन प्रणाली पूर्ण रूपमा प्रभावकारी नहुँदा केही स्थानमा अझै पनि फोहोर जथाभावी फालिन्छ, जसले दुर्गन्ध र रोगको जोखिम बढाएको छ । नगरमा अहिले पनि कुहिने नकुहिने फोहोरलाई अलग अलग व्यवस्थापन गरेको पाइदैन । यसरी व्यवस्थापन गर्नु अति आवश्यक छ । यसो गरेमा फोहोरबाट मोहर निकाल्न पनि सकिन्छ । पथरी बजारमा केहि क्षेत्रहरू निर्धारण गरेर ठुला ठुला फोहोरका कन्टेनर राख्ने र वरीपरीका मानिसले फोहोरलाई वर्गिकरण गरी कन्टेनरमा राख्ने गर्नु उपयुक्त हुन्छ ।

उचित ढल निकास प्रणालीको अभावमा वर्षायाममा सडकहरू जलमग्न हुने र ढलको पानी जम्ने समस्या कायमै छ । यसले सरसफाइ र स्वास्थ्य दुवैमा नकारात्मक असर पार्छ । पथरी बजारको दक्षिण क्षेत्रमा यस्तो समस्या बढी मात्रामा देखिन्छ । बुद्धचोक आसपास र यसको उत्तर क्षेत्रमा बढी मात्रामा ढुवान हुने गरेको छ । शहरी क्षेत्रमा घर तथा ठुला भवनहरू निर्माण गर्दा सावधानी अपनाउनु पर्ने र ढलको उचित व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ । प्लाष्टिकको बढ्दो प्रयोग र यसको उचित व्यवस्थापन नहुँदा प्लाष्टिकजन्य फोहोर प्रमुख चुनौतीका रूपमा देखा परेको छ । यसले वातावरणमा दीर्घकालीन नकारात्मक असर पार्न सक्छ । नगरपालिकाले कहिलेकाँही प्लास्टिकजन्य झोला प्रयोगमा प्रतिबन्द लगाउने भन्ने सुनिन्छ तर त्यसको ठोस कार्यान्वयन भने हुँदैन । एकदिन बजार अनुगमन गरेर प्लास्टिक झोला बन्द हुँदैन यसका लागि ठोस नियम बनाएर कडा रुपमा कार्यान्वयन गर्नु आवश्यक हुन्छ । नगरले यो काम गर्न सकिरहेको छैन् ।
केही स्थानमा अझै पनि सरसफाइका नियम पालना नगर्ने र फोहोर जथाभावी फाल्ने प्रवृत्ति देखिन्छ, जुन जनचेतनाको कमीको परिणाम हो । पथरी शहरका पैनी तथा नहरहरूमा जताततै फोहोर देखिन्छ । बजार भित्रका अधिकांश स्थानमा फोहोर गनाइरहेको हुन्छ । यो अवस्था हेर्दा यहाँका मानिसमा अझैपनि फोहोरलाई सहि तरिकाले व्यवस्थापन गर्नुपर्छ भन्ने चेतना नभएर नै हो भन्ने लाग्छ । बजारका सबैजसो स्थानमा गुट्का, भोला, चाउचाउ लगायतका खोलहरू प्रसस्त मात्रामा भेटिन्छन्, यसलाई पूर्णतः रोक्नु आवश्यक छ ।

भविष्यको बाटो
पथरीशनिश्चरे नगरपालिकालाई स्वच्छ, सुन्दर र स्वस्थ बनाउन वातावरण संरक्षण र सरसफाइ व्यवस्थापनलाई प्राथमिकता दिनु अपरिहार्य छ । यसका लागि निम्न कुरामा ध्यान दिन सकिन्छ ः
वनमा फोहोर डम्पिङ गर्ने अव्यवस्थित तरिकालाई तत्काल बन्द गरी फोहोरलाई स्रोतमा नै वर्गीकरण गर्ने, पुनः प्रयोग र प्रशोधन गर्ने तथा वैज्ञानिक ल्यान्डफिल साइटको निर्माण गर्ने कार्यलाई तीव्रता दिनुपर्छ । शहरी योजना बनाउँदा हरियालीलाई प्राथमिकता दिने, खाली ठाउँमा वृक्षारोपण गर्ने र शहरी वनको अवधारणालाई प्रोत्साहन गर्नुपर्छ । यसो गर्दा शहरका प्रत्येक घरमा अनिवार्य बिरुवा लगाउने र त्यसरी बिरुवा लगाउने घरलाई नगरले प्रोत्साहित गर्न सक्छ । व्यवस्थित ढल निकास प्रणालीको निर्माण र मर्मतसम्भारमा लगानी बढाउनुपर्छ । ढल निर्माण गर्दा लामो अवधिसम्म हुनेगरिको निर्माण गर्नुपर्छ ।

वातावरण संरक्षण र सरसफाइको महत्त्वबारे स्थानीय बासिन्दामा थप चेतना फैलाउन व्यापक अभियान चलाउनुपर्छ । यसका लागि स्थानीय संघसंस्था र स्थानीय सञ्चार माध्यमसँग सहकार्य गरी निरन्तर अभियानका रुपमा अगाडि बढाउन सकिन्छ । नगरपालिकाले यसको नीति निर्माण गरेर लामो अवधिसम्म यो अभियानलाई निरन्तरता दिनुपर्छ ।  वातावरण प्रदूषण गर्ने र फोहोर जथाभावी फाल्नेलाई दण्डित गर्ने कानुनी प्रावधानको कडाइका साथ पालना गराउनुपर्छ । पटक पटक जनचेतना फैलाउने र अभियान अगाडि बढाउने यसो गर्दा पनि बेवास्ता गर्ने वा अभियानमा साथ नदिनेलाई कडा कानुनी कार्वाहीका लागि तयार रहनुपर्छ । हाइवेमा हुने सवारी साधनलाई पनि सचेत गराएर नगरको क्षेत्र भित्र कुनैपनि फोहोर फ्याक्न नदिने व्यवस्था गर्नु उपयुक्त हुन्छ ।

पथरीशनिश्चरे नगरपालिकालाई स्वच्छ, सुन्दर र स्वस्थ बनाउन स्थानीय सरकार, समुदाय र नागरिक समाजबीचको सहकार्य अपरिहार्य छ । सही नीति र कार्यान्वयनले मात्र बदलिँदो वातावरणका चुनौतीहरूलाई अवसरमा बदल्न सकिन्छ । यसका लागि सरकार, नागरिक समाज, संघसंस्था, प्रहरी, सञ्चार माध्ययम सबैले आफ्नो ठाँउबाट सहकार्यमा जुट्न आवश्यक छ ।

सम्बन्धित खवर