मिक्लाजुङ गाउपालिकामा सोमबार अल्पसंख्यकसँग प्रहरी कार्यक्रम सम्पन्न भएको छ । सोमबार मिक्लाजुङ गाउपालिका वडा नम्बर ९ मधुमल्लास्थित गाउपालिकाको सभाहलमा आयोजित सो कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरिक्षक राजन अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।
सो अवसरमा बोल्दै डीआईजी अधिकारीले देशमा शान्ति सुरक्षाको प्रत्याभूती गराउन प्रहरी मेरो साथी कार्यक्रम प्रभावकारी बनेको बताउदै गरिव, अल्पसंख्यक, दलित, उत्पिडित वर्ग र समुदायको पक्षमा नेपाल प्रहरी रहेको धारणा व्यक्त गरे । उनले भने,” प्रहरी सेवा नि:शुल्क हो । तर जनमानसमा यसबारे अझै भ्रम रहेको पाईन्छ । अशिक्षाको कारण निमुखा , अल्पसंख्यक समुदायका मानिसहरुले भनसुनबाट मात्रै प्रहरी सेवा लिने गरेको पाईन्छ । प्रहरी सेवा लिन कुनै भनसुन आवश्यक नरहेको प्रष्ट पार्न चाहन्छौँ । ”
यस्तै उनले हरेक वर्ग र समुदायलाई सम्बन्धित प्रहरी कार्यालयको नागरिक सहायता कक्षमा गई निर्धक्क साथ प्रहरी सेवा लिन अपिल गर्दै विपन्न तथा अल्पसंख्यक नागरिकको पक्षमा नेपाल प्रहरी रहेको बताएका छन् ।
मिक्लाजुङ गाउपालिकासँगको समन्वयमा जिल्ला प्रहरी कार्यालय मोरङले आयोजना गरेको सो कार्यक्रममा ८० जना अल्पसंख्यक नागरिकहरुलाई ज्याकेट वितरण गरिएको थियो ।
यस्तै सो अवसरमा मिक्लाजुङबासीलाई थप सुरक्षाको प्रत्याभुती दिलाउन ईलाका प्रहरी कार्यालय मधुमल्लालाई एक थान गाडी उपलब्ध गराईएको थियो । सो गाडीको चाबी डीआईजी अधिकारीले ईप्रका मधुमल्लालाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख प्रजिअ ईन्द्रदेव यादव, मोरङ प्रहरीका प्रमुख प्रहरी उपरिक्षक नारायण प्रसाद चिमरिया, मिक्लाजुङ गाउपालिकाका अध्यक्ष बबिकुमार राई, ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरिक्षक राकेश यादवलगायतको आतिथ्यता रहेको थियो ।