पथरीशनिश्‍चरे गोल्डकप : उपाधिका लागि ब्रिगेड ब्वाइज र सङ्‍कटा भिड्ने

पथरीशनिश्‍चरे गोल्डकप : उपाधिका लागि ब्रिगेड ब्वाइज र सङ्‍कटा भिड्ने

ब्रिगेडले कम्तीमा २ लाख रुपैयाँ सुरक्षित गरेको छ। वर्षाबीच सञ्चालन भएको अन्तिम सेमिफाइनलको निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकर हुँदै सडनडेथले निर्धारण गरेको हो।

शनिबार हुने फाइनलमा काठमाडौंको सङ्‍कटा क्लबसँग ब्रिगेडले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। बिहीबार सम्पन्न खेलमा झापाले केही राम्रा मुभ बनाए पनि स्कोर गर्न नसक्दा सेमिफाइनलबाटै बाहिरिन पुग्यो। दोस्रो हाफको २७ मिनेटमा झापाका हिसु थपलियाले गरेको गोल अफसाइड भएपछि अग्रता लिने मौका झापाले गुमायो। वर्षाका कारण मैदान हिलो भएका कारण पनि दुवै टिमले खुलेर खेल्न पाएनन्।

सडनडेथमा झापाका सौभाग्य राईको प्रहार ब्रिगेडका गोलकिपर रुविन बोगटीले बचाए। त्यसअघिको टाइब्रेकरमा झापाका हिसु थपलिया र ब्रिगेडका कप्तान एन्जल महर्जनको प्रहार बाहिरिएको थियो।

टाइब्रेकरमा झापाका अभिषेक गु्रुङ, मौसम लिम्बू, देवेन्द्र तामाङ र उत्सव राईले गोल गरे। ब्रिगेडका असीम गुरुङ, दिवाकर चौधरी, रोहन खड्गी र आशिष् राईले गोल गरे। सडन डेथमा ब्रिगेडका हरिस भट्ट र पदम भट्टराईले गोल गर्दा झापाका एन्जल गुरुङको प्रहार गोलमा परिणत भयो।

खेलको म्यान अफ द म्याच ब्रिगेडका दिवाकर चौधरी घोषित भए। उनले नगद पाँच हजार प्राप्त गरे। गोल्डकपको विजेताले तीन लाख रुपैयाँ प्राप्त गर्ने छ भने उपविजेताले दुई लाखमा चित्त बुझाउने छ।

ब्रिगेडले पहिलो खेलमा सलहेस युथ क्लब सिराहलाई हराएको थियो भने सङ्‍कटाले सेमिफाइनलमा पथरी ११ लाई पराजित गरेर फाइनलमा स्थान बनाएको हो।

सम्बन्धित खवर