‘जसले जितको खुसी गृह नगरमा साट्न नपाइ बिदा भए’

‘जसले जितको खुसी गृह नगरमा साट्न नपाइ बिदा भए’

अर्जुन काफ्ले
पथरी, मोरङ्ग
बुधवार बिहानै सनसनी रुपमा एउटा खबर फैलियो । केहिले अपुष्ट हुने गरि फेसबुकमा स्टाटस लेखे । शारीरिक सुगठनका खेलाडी प्रकाश राईको हृदयघातका कारण निधन भएको पुष्टी उनका दाजु प्रदिप राईले जानकारी दिए पछि भयो ।

मिस्टर काठमाडौँको प्रतिष्पर्धामा राजधानी पुगेका उनले शनिवार मात्र सो प्रतिष्पर्धाको ताज पहिरीएका थिए । उनको जितको खुसीमा उनको गृह नगर पथरीशनिश्चरे नै खुसी भयो । उनको गृहनगरमा भव्य स्वागत गर्ने कार्यक्रम पनि बनेको थियो । अकस्मात हृदयघातका कारण काठमाडौँको ग्राण्डी अस्पतालमा उनको उपचार भइरहेको र केहि समय पछि नै मृत्यु भएको खबरले नगरवासीको खुसीलाई शोकले ढाक्यो ।
शनिवार बिहान उनको निवासमा ल्याइएको प्रकाशको पार्थिव शरिरलाई श्रद्धान्जली दिने र मलामी जानेको संख्या बाक्लिदै थियो ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिला वल्लव अधिकारी र प्रदेश राज्य मन्त्रि सिर्जना राई प्रकाश राईको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन आइपुगे । मन्त्री अधिकारीले राईको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओडाएर सम्मान गरे । मन्त्री र राज्यमन्त्री बाहेक पथरीशनिश्चरे नगरका नगर प्रमुख, विभिन्न वडाका वडा अध्यक्ष देखि खेल क्षेत्रका प्रतिनिधीहरुको बाक्लो उपस्थिती थियो पथरी बजारमा ।
राष्ट्रिय रुपमा आयोजना हुने शारीरिक सुगठनका प्रतियोगीतामा प्राप्त गरेका मेडल र पुरस्कार उनको शवको वरीपरि राखिएको थियो । जसलाई उनको निधन पछि पनि सम्मानका लागि राखिएको थियो । शव यात्रा अघि उनको घरमै भएको श्रद्धाञ्जली सभामा करिब ५ हजार भन्दा बढि स्थानियवासी र खेल सम्वद्ध व्याक्तिहरू सहभागी भए ।

करिब ११ बजेबाट सुरु गरिएको अन्तिम शवयात्रा पथरी बजार परिक्रमा गरेर पथरी बजार पश्चिमको जंगल उत्तरतर्फ पुगेर टुङ्गीयो । शव यात्रामा पनि त्यती कै संख्यामा मानिसको सहभागीता थियो । पथरी बजारमा आएका उनका शुभचिन्तक र मलामीको भिडले केहि समय महेन्द्र राजमार्गको ट्राफिक व्यावस्थापन गर्न ट्राफिक प्रहरीलाई हम्मेहम्मे पर्यो ।

राइको निधन प्रति दुःख व्यक्त गर्दै पथरीशनिश्चरे नगरले उनको शोकमा एक दिनको शोक विदा समेत दिएको छ । ‘पथरीशनिश्चरे नगरबाट शारीरिक सुगठन खेलका माध्यमबाट नगरकै नाम राख्न सफल भएको भन्दै उनको सम्मानमा कार्यक्रम गर्ने तय गरेको थियो तर उनको निधनमा शोक विदा दिन पुगियो’ नगर प्रवक्ता नविनजंग कार्कीले भने ‘यो घटनाले नगरमात्र नभइ देशले नै एउटा प्रतिभा गुमाएको छ’ ।
राईले यस अघि पनि उपाधी जितेपछि पथरी नगरमा उनको सम्मानमा कार्यक्रम हुने गरेको र यस पटक पनि उनको सम्मानको कार्यक्रम विभिन्न फिटनेस क्लवले समेत राखेका थिए तर उनको सम्मानमा तय गरिएका कार्यक्रम नभइ उनको अन्तिम विदाइ गर्न पुगे उनका गृह नगरवासीहरू ।

बुधवार विहान निधन भएका राईको शवलाई शुक्रवार हेलिकप्टरबाट ल्याउने तयारी गरिए पनि प्रविधिक कारण उनको शव स्थल यात्राबाटै पथरी बजारमा ल्याइएको थियो । विहान नै शारीरिक सुगठनका विभिन्न फिटनेस क्लवका सदस्यहरू उनको शवलाई श्रद्धाञ्जली दिन लाम लागीसकेका थिए । हालै मात्र मिस्टर काठमाडौंँको उपाधी जितेपछि उनको चर्चा शिखरमा पुगेको थियो ।

सन् २००१ मा उर्लाबारीमा मिस्टर उर्लाबारी जितेसँगै उनले विभिन्न शारीरिक सुगठन प्रतियोगीताका उपाधी जित्न पुगे । करिव १२ वर्ष मकाउमा रोजगारीका क्रममा रहेका राईले त्यहाँ पनि खेललाई निरन्तरता दिए । वि.सं. २०३६ सालमा जन्मिएका राई हाल भने पथरीशनिश्चरेलाई नै आधार बनाएर शारीरिक सुगठनका प्रतियोगीतामा सहभागी हुदै आएका थिए । पुर्वी मोरङ्ग क्षेत्रका शारीरिक सुगठनका खेलाडीलाई उत्पे्ररकका रुपमा रहेका उनको निधनले ठुलो क्षति भएको पथरी फिटनेश क्लबका गणेश नेपाली बताउछन् ।

राईको निधनले परिवारले एक सदस्य गुमाउदा नगरले एउटा खेल क्षेत्रको उदाउदो प्रतिभा गुमाएको छ नगरका प्रवक्ता कार्कीले भने ।
सम्मान कार्यक्रम तय गरिएको एउटा खेलाडीको अन्तिम संस्कार गर्न पुग्नुपर्ने बाध्यतामा रहेका नगरवासी समेत भावविह्ल देखिन्थे ।

सम्बन्धित खवर