पथरी, पूर्व पश्चिम एसियन हाइवे निर्माणको काम तिब्र गतिमा भइरहेको छ । यस क्रममा मोरङको पथरीशनिश्चरे खण्डमा केहि विवाद देखिएको छ । सो विवाद समाधानका लागि नगरपालिकामा छलफल भएको छ ।
नगरको वडा नं. १० मा पर्ने जिरिखिम्ती क्षेत्रमा विवाद देखिएपछि हिजो नगर प्रमुख मोहन प्रसाद तुम्बापोको अध्यक्षतामा छलफल भएको नगरका सूचना सम्पादक सन्तोष राइले जानकारी दिनुभयो । छलफलमा इलाका प्रशासन कार्यालयका उपसचिव रुद्र प्रसाद न्यौपाने, मालपोत कार्यालय बेलबारीका मदन घिमिरे, नापी कार्यालय बेलबारीका प्रसान्त घिमिरे, आयोजना प्रमुख जगत प्रजापति र वडा नं. १० का अध्यक्ष जीवन खतिवडा र वडा नं. १० को प्रभावित क्षेत्रका स्थानीयको उपस्थिति थियो ।
सो विवादित क्षेत्रमा सडक व्याक्तिको नाममा रहेका जग्गामा पर्ने भएपछि विवाद भएको हो । हालको अवस्थामा सडक विस्तार हुँदा उत्तर साइडमा पर्ने मानिसहरूलाई बढि प्रभाव पर्ने देखिएको छ । विवाद उत्पन्न भएपछि जिरिखिम्ती क्षेत्र (डाँस खोला र मोरङ्गी खोला) बिचको भागमा सडक निर्माणको काम तत्काललाई रोक्ने निर्णय भएको छ ।