सडक निर्माणमा लापरवाही भेटिएपछि सांसद लिम्बू आक्रोशित

सडक निर्माणमा लापरवाही भेटिएपछि सांसद लिम्बू आक्रोशित

सडक निर्माणमा चरम लापरवाही भेटिएपछि निर्माणको प्रारम्भिक चरणमै कमसल सामग्री प्रयोग भइरहेको भन्दै मोरङ क्षेत्र नम्बर १ का सांसद तथा निवर्तमान युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू आक्रोशित बनेका छन् ।

पुर्वोतर मोरङको ‘लाइफ लाइन’ मानिएको लेटाङस्थित जीरो पोइन्टबाट निर्माणधीन ‘कालेबुदुली’ मार्गको निर्माण कार्यमा ठेकेदार कम्पनीले कमसल निर्माण सामग्री प्रयोग गरेको पाइएपछि पुर्वमन्त्री लिम्बु आक्रोशित बनेका हुन् ।

आफ्नो निर्वाचन क्षेत्रमा बन्दै गरेको महत्वपुर्ण आयोजनामा लापरबाही भएको गुनासो आएपछि सांसद लिम्बूसहितको टोलीले लेटाङ – ६ नम्बर बुधबारे सडक खण्डको स्थलगत निरीक्षण गरेको थियो ।

ढुंगा भरेको ग्याबिन जाली, रिटेनिङ स्ट्रक्चर र ड्रेन निर्माणमा गुणस्तरहीन र मापदण्डविपरीत कार्य भैरहेको पाइएपछि सांसद लिम्बूले ठेकेदार कम्पनी र सडकको नियमन गर्ने निकायबीच मिलेमतोमा अनियमित कार्य भएको बताए । निर्माण कम्पनीले नाफा मात्रै चाहेको र नियमनकारी निकायले बेवास्ता गरेका कारण सडक निर्माणकै क्रममा लापरबाही भइरहेको भन्दै लिम्बूले आक्रोश पोखे।

ग्याबिनमा सानो साइजका कमसल ढुंगा र माटो भरेर जाली बाँधिएको, सडक खन्दा निकालिएको ढुंगा नै निर्माण कार्यमा प्रयोग गरिएको, सिमेन्टको मात्रा नमिलाई जथाभावी गिटी मिक्स गरेर ड्रेन निर्माण गरिएको भेटिएको हो ।

लापरबाही गर्ने ठेक्केदारलाई कारवाही गरेर व्यवस्थित संरचनाको निर्माण गराउन आफु लागि परेको सांसद लिम्बूको भनाई छ ।

निर्माण कम्पनीले चरम लापरबाही गर्दापनि अनुगमनका निकायले ध्यान दिएको छैनन् ।

यता पुर्वाधार विकास कार्यालय मोरङका कार्यालय प्रमुख डिइ सुशीलकुमार श्रेष्ठले सडक निर्माणका क्रममा गुनासो आएजस्तो कमसल सामग्री प्रयोग नभएको दाबी गरे। उनले नियमित अनुगमन भैरहेको तथा प्रयोगशालामा परीक्षण गरेर निर्माण सामग्रीको प्रयोग भइरहेको उल्लेख गरे ।

कानेपोखरी, लेटाङ हुँदै पुर्वी पहाडका ६ नम्बर बुधबारे, दुर्दिम्बा र लिम्बासम्म जोड्ने भएका कारण सो मार्ग कालेबुदुली नामले चिनिन्छ ।

लेटाङको वीपी चौक सुरुवात बिन्दु भई धनकुटाको ६ नम्बर बुधबारेसम्मको २९.६० किमी सडक ठेक्का लागेको हो । पुर्वाधार विकास कार्यालय मोरङ अन्तर्गत ८७ करोड तीन लाख ५३ हजार रुपैयाँ लागतमा सन्तोषी – जोया ब्रदर्श जेभी सुनसरीको फर्ममा निर्माण व्यवसायी भीम पौडेलले लेटाङ- ६ नम्बर बुधबारे सडकको ठेक्का हात पारेका हुन् ।

२०८० वैशाख २८ गते सम्झौता गरेको जेभीले २०८३ वैशाख २८ मा काम सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो ।

सम्बन्धित खवर