रतुवामाई / सौंठा बचत तथा ऋण सहकारी संस्था लिमिटेड (साकाेस)ले आज (शुक्रबार) रतुवामाई–६ मा एक भव्य कार्यक्रमकाबिच १८औँ वार्षिक साधारणसभा सम्पन्न गरेकाे छ।

वार्षिक साधारणसभामा गत आर्थिक वर्षको वित्तीय विवरण र चालु आर्थिक वर्षका लागि प्रस्तावित कार्ययोजना सर्वसम्मत् रूपमा पारित गरिएको संस्थाका अध्यक्ष खगेन्द्रबहादुर राईले जानकारी दिनुभयो ।

कार्यक्रममा वर्षभर उत्कृष्ट बचत तथा ऋण कारोबार गर्ने सेयर सदस्यहरू र बाल बचतकर्तालाई सम्मान गरिएको संस्थाका व्यवस्थापक यादव बिष्टले बताउनुभयो।
अध्यक्ष खगेन्द्रबहादुर राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष महेशकुमार गौतम, पूर्वअध्यक्ष ऋषिकुमार मिश्रलगायतका पूर्व तथा वर्तमान पदाधिकारी र सल्लाहकारहरूको आतिथ्यता रहेको थियो।

२०६४ सालमा स्थापना भएको उक्त सहकारीमा हाल २ हजार २ सय ९३ जना सेयर सदस्य रहेका छन् भने संस्थाको २३ करोड रुपैयाँभन्दा बढीको वासलात वा वार्षिक कारोबार रहेको छ ।
सहकारीले ग्रामीण स्तरमा रहेका साना–साना पुँजीलाई एकीकृत गरी बचत परिचालनमार्फत रोजगार सिर्जना गर्न र कृषि उद्यमशीलताको विकासमा योगदान पुर्याउँदै आएको छ।







