प्रहरी चौकीको माग गर्दै वडा कार्यालयमा तालाबन्दि

प्रहरी चौकीको माग गर्दै वडा कार्यालयमा तालाबन्दि

पथरी, साबिक शनिश्चरे गाबिस वडा नम्बर ४ मोरङका स्थानीयबासीले पथरी शनिश्चरे वडा नम्बर ८ को कार्यालयमा तालाबन्दी गरेका छन् ।

आइतबार सय बढी उपस्थित स्थानीयबासीले बिहान् १० बजे अघि नै कार्यालयमा तालाबन्दी गरेका हुन् । प्रहरी चौकीको माग गर्दै अनिश्चितकालीन तालाबन्दी गरेको प्रहरी चौकी माग गर्न बनेको संघर्ष समितिका अध्यक्ष वीर बहादुर तुम्साले बताएका छन् ।

साबिक शनिश्चरे ४ मा चोरी, डकैती, लागुऔषधलगायत अपराधिक घटना घटेकाले प्रहरी चौकीको माग गरिएको संघर्ष समितिका सचिव सुनिल सदेम्बा लिम्बुले बताए । स्थानीयबासीले वडा सदस्य बाबुराम चौधरीको अध्यक्षतामा गत पुष १८ गते दोहलु शुक्रबारे आम भेला बसेको थियो । १ सय ८८ उपस्थित भेलाले प्रहरी चौकी माग गर्ने निर्णय गरेको थियो । भेलाले तुम्साको नेतृत्वमा १३ सदस्यीय संघर्ष समिति, गङ्गा भन्डारी संयोजकत्वमा ६ सदस्यीय सल्लाहकार समिति चयन गरेको थियो । साथै दोहलु शुक्रबारेमा रहेको २ कोठे टहरा भवनलाई प्रहरी चौकीको कार्यालयको स्थान उपयोग गर्ने समेत निर्णय गरेको थियो ।

पथरी शनिश्चरे नगर कार्यपालिकाले पालिकाको विभिन्न वस्तीहरुमा अवान्छ्निय गतिविधि बढी रहेको हुँदा वडा नम्बर ४, ६ र ७ को सिमाना किर्तिपुर बजार साथै वडा नम्बर ४ र ८ को सिमाना सखुवारामा अस्थायी प्रहरी चौकी स्थापना गरिदिन जिल्ला प्रशासन कार्यालय मोरङ्लगायत सरोकारवाला निकाय समक्ष अनुरोध गर्ने निर्णय भएको वडा नम्बर ८ का अध्यक्ष तथा नगर प्रवक्ता नविनजङ्ग कार्कीले बताए ।

स्थानीयबासीलाई इलाका प्रहरी कार्यालयका प्रमुख गणेश बहादुर श्रेष्ठले हाल सखुवारामा नै प्रहरी चौकी स्थापना गर्ने निर्णय भए पनि चौकी राख्ने स्थानको समस्या सामधान बिना चौकी स्थापना नहुने आश्वासन दिए । नगर प्रवक्ता कार्कीले समस्या सामधान गर्न आवश्यक पहल गर्ने बताएका छन् । वडा कार्यालय बन्द भएपछि सेवाग्राही मर्कामा परेका छन् ।

सम्बन्धित खवर