प्रधानाध्यापकले एकवर्षमै सुधारेको एउटा विद्यालय

प्रधानाध्यापकले एकवर्षमै सुधारेको एउटा विद्यालय

नेतृत्वले इमानदारीपूर्वक जिम्मेवारी वहन गर्दा मात्रै पनि कति व्यापक सुधार हुन्छ भन्ने उदाहरण हो, बालाजुको शितला मावि । काठमाडौं महानगर वडा नम्बर १६ मा रहेको यो मावि केही अघिसम्म सायदै नाम सुनिन्थ्यो । अहिले महानगरकै उदाहरणीय विद्यालयको रूपमा गणना हुन थालेको छ ।

महानगरले आयोजना गर्ने हरेक प्रतियोगितात्मक कार्यक्रममा शितला माविका विद्यार्थीले पुरस्कार जित्न थालेका छन् । विद्यार्थीको प्रस्तुति र आत्मविश्वास अन्य विद्यालयका विद्यार्थीलाई समेत प्रेरित गर्ने खालको हुन थालेको छ ।विद्यालयको प्रस्तुतिमा यो तहको परिवर्तन आउन वर्षदिन पनि लागेको छैन ।

शितला माविले विद्यार्थीलाई केन्द्रमा राखेर काम गर्न थालेपछि यति छोटो समयमा प्रभावकारी परिवर्तन देखिएको महानगरपालिकाका शिक्षा अधिकृत सीताराम कोइराला बताउँछन् । भन्छन्, ‘सही व्यक्ति सही ठाउँमा पुग्दाको नतिजा हो, यो ।’

कोइरालाको भनाइ अनुसार विद्यालयका प्रधानाध्यापक लक्ष्मण श्रेष्ठको काम गर्ने शैलीका कारण एक वर्ष नपुग्दै महानगरको टप विद्यालयलाई चुनौती दिन थालेको छ ।शितला माध्यमिक विद्यालयले प्रधानाध्यापकको रूपमा लक्ष्मण श्रेष्ठ पाएपछि प्रगतिको बाटो समाएको हो ।

२०७९ भदौमा महानगरले शिक्षक दरबन्दी मिलान गर्ने क्रममा वडा नम्बर ३२ मा रहेको कोटेश्वर सरस्वती माविमा अंग्रेजी विषय शिक्षक रहेका श्रेष्ठलाई शितला माविमा सरुवा गरेको थियो ।सरुवा भएको करिब ६ महिनापछि श्रेष्ठले निमित्त प्रधानाध्यापकको जिम्मेवारी पाएका थिए ।

जिम्मेवारी पाएपछि उनले विद्यालय सुधारका लागि सबैभन्दा पहिला शिक्षक तयार गर्न थाले । आवश्यक तालिमको व्यवस्था गरे । विद्यार्थीलाई केन्द्रमा राखेर शिक्षकलाई तालिम दिने, प्रशिक्षण दिने, शिक्षा सुधार योजना बनाउने लगायत गर्न थाले ।

महानगरले प्रक्रिया पुर्‍याएर श्रेष्ठलाई ३० वैशाखमा प्रधानाध्यापकनियुक्त गर्‍यो । प्रधानाध्यापकको जिम्मेवारी सम्हालेको करिब ८ महिनाभित्र उनले देखाएको परिवर्तनले अभिभावक, विद्यार्थी र स्वयं शिक्षकमा उत्साह थपिएको छ ।श्रेष्ठ भन्छन्, ‘मैले मेरो र शिक्षक, कर्मचारी साथीहरूले पनि आफ्नो जिम्मेवारी निभाउने वातावरण मात्रै बनाएको हुँ ।’

विद्यालयले विद्यार्थीकेन्द्रित रहेर योजना बनाउने र त्यसमा विद्यार्थीको सहभागिता बढाउने प्रयास गर्ने हो भने विद्यालयको वातावरण आफैं राम्रो हुने उनको तर्क छ । प्रधानाध्यापक श्रेष्ठ विद्यार्थीकेन्द्रित योजना बनाउने कोसिस गरेकैले सकारात्मक प्रभाव देखिएको बताउँछन्। अनलाइनखबरबाट

सम्बन्धित खवर