पथरी – माङसेबुङ गाउँपालिका–५, इलाममा आयोजित १८औँ आत्मानन्द गोल्डकप फुटबल प्रतियोगिता आइतबारबाट सुरु भएको छ। आत्मा पवित्र हक्चात याक्थुमको आयोजनामा आत्मानन्द रंगशालामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा मोरङ पथरीको सिरिजंघा स्पोर्टिङ क्लबले विजयी सुरुवात गरेको छ।
उद्घाटन खेलमा सिरिजंघाले माङसेबुङ गाउँपालिकालाई ३–१ गोल अन्तरले पराजित गरेको हो। सिरिजंघाका लागि सन्जय धिमाल नायक बने। उनले ११ औँ, ३८ औँ र ३९ औँ मिनेटमा लगातार तीन गोल गर्दै ह्याट्रिक पूरा गरे। माङसेबुङ गाउँपालिकातर्फबाट ओसन राईले ५९ औँ मिनेटमा एकमात्र सान्तवना गोल फर्काए।
उत्कृष्ट प्रदर्शन गरेका सिरिजंघाका सन्जय धिमाल ‘म्यान अफ द म्याच’ घोषित भए।
प्रतियोगिताअन्तर्गत सोमबार पाँचथरको तिजोक युवा क्लब र मोरङको लेटाङ फुटबल क्लबबीच खेल हुने छ।
प्रतियोगिताको विजेताले ३ लाख ११ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने छ भने उपविजेताले २ लाख ५ हजार रुपैयाँमा चित्त बुझाउनु पर्ने छ।







