सुतेकै ठाउँमा पूर्व प्रेमीले सल्काइदिए आगो, ९ महिने छोरीको पनि ज्यान गयो

सुतेकै ठाउँमा पूर्व प्रेमीले सल्काइदिए आगो, ९ महिने छोरीको पनि ज्यान गयो

नाबालिका छोरी सहित आधा शरीर जलेको अवस्थामा आफ्नै घरभित्रै मृत फेला परेका आमा छोरीको हत्या पूर्वप्रेमीले गरेको खुलेको छ ।

सल्यानको त्रिवेणी गाउँपालिका–२ झालेढुंगा थापा टोलकी २९ वर्षीया रेवती थापा र उनकी ९ महिनाकी छोरी ऋतुको भदौ ३० गते बिहान आफ्नै घरभित्र कोठामा शरीरको आधा भाग जलेको अवस्थामा शव फेला परेको थियो ।

मृतक रेवतीका आमाछोरीको हत्या पूर्वप्रेमी सल्यान सिद्धकुमाख गाउँपालिका २ खानीगाउँका २८ वर्षीय कर्णबहादुर बस्नेतले गरेको तथ्य खुलेको छ । उनले नै आमाछोरीको हत्या गरेको खुलेको हो । उनी वैदेशिक रोजगारीको सिलसिलामा दुबई गएका थिए र यहि भदौ २६ गते मात्र घर फर्किएका थिए । उनको घरमा श्रीमती १ छोरा र १ छोरी छन् । उनलाई प्रहरीले असोज ३ गते सिद्धकुमाख गाउँपालिका ढोरचौरबाट पक्राउ गरेको हो ।

हत्याको कारण ?

७ वर्ष पहिले कर्ण र रेवतीका बीचमा सामाजिक सञ्जाल फेसबुकमार्फत् चिनजान भएको थियो । कर्ण विवाहित थिए । रेवती भने अविवाहित । उनीहरूको प्रेम सम्बन्ध शारीरिक सम्बन्धसम्म पुग्यो । उनीहरू आपसमा बिहे गर्न मन्जुर भएका थिए । कर्णले पहिल्यै विवाह गरेको थाहा पाइसकेपछि पनि रेवती कर्णसँग विवाह गर्न राजी बनेकी थिइन् । तर, सन् २०१८ मा कर्ण दुबई गए । त्यसपछि रेवतीले त्रिवेणी गाउँपालिका – २ झालेढुंगा थापा टोलका शुकलाल थापासँग बिहे गरिन् । रेवती आफूलाई धोका दिएको भन्दै कर्णले बदलाको भाव सहित इगो पाल्दै आएका थिए ।

रेवती र कर्णले आपसी सम्बन्धमा ती शारीरिक सम्बन्धका थुप्रै फोटो र भिडियोहरू बनाइराखेका थिए । त्यस्ता फोटो र भिडियो दुवैसँग थिए । त्यस्तै फोटोहरूका कारण एक पटक रेवती र उनका श्रीमान शुकलाल बीचको सम्बन्ध निकै चिसिएको भए पनि विस्तारै उनीहरूका बीचमा कुरा मिलेको प्रहरी बताउँछ ।

रेवतीले विवाह गरेको २ वर्षपछि फेरि कर्णले विभिन्न माध्यमको प्रयोग गरी रेवतीसँग सम्बन्ध स्थापित गरेका थिए । त्यतिखेरदेखि उनीहरूका बीचमा तिनै प्रेम सम्बन्धका फोटो र भिडिओका कारण विवाद चुलिँदै गएको थियो । ती तस्बिरहरू डिलिट गर्नुपर्ने विवादको मुख्य कारण थियो ।

कर्णलाई पनि ती फोटोहरू सार्वजनिक भए आफ्नो प्रतिष्ठा गुम्ने त्रास थियो । रेवतीले भने फोटोहरू डिलिट गर्न मानिरहेकी थिइनन् । विगत ८ महिनादेखि उनीहरूका बीचमा विवाद चर्किंदै गएको थियो ।

त्यही समयदेखि नै कर्ण प्रमाण मेटाउनका लागि रेवतीको हत्या गर्नु नै उचित हो भन्ने गलत निष्कर्षमा पुगेर हत्याको योजना बुन्दै आएको तथ्य खुलेको डिएसपी नवीन कार्कीले बताए ।

नेपाल आएर रेवतीको हत्या गर्ने योजनाका साथ दुबईमै छँदा कर्णले ४ महिना पहिले कार्यरत ठाउँमा बिदासमेत मागेको भए पनि बिदा नमिलेको हुँदा योजना विफल भएको बयान कर्णले दिएको डिएसपी कार्कीले बताए ।

पछिल्लो समय उनी भदौ २६ गते मात्रै घर फर्केका थिए । उनी यतिखेर नेपाल आउनुको कारण पनि रेवतीको हत्या गर्नु बाहेक अर्को योजना नरहेको प्रहरी बताउँछ । सोही सोचका साथ घर आएका कर्णले दुई दिन आफ्नो घरमा बसेपछि तेस्रो दिनमा रेवतीको हत्या गरेका थिए ।

हत्यालगत्तै सुटुक्कै फेरि विदेश फर्किने कर्णको योजना थियो । माल्टा जानका लागि उनले पहिलै एजेन्टलाई दश लाख नगद बुझाइसकेको प्रहरी बताउँछ ।

प्रहरीका अनुसार कर्णले विदेशबाट काठमाडौं फर्किनासाथ एक पटक मात्रै रेवतीसँग फोनमा कुराकानी गरेका थिए । त्यसपछि उनले रेवतीसँग कहिल्यै संवाद गरेका थिएनन् ।

कसरी गरे हत्या ?

दुबईबाट २६ गते घर आएका कर्णबहादुर दुई दिन घरमै बसेर २९ गते दिउँसो घरबाट गाडी चढेर श्रीनगर बजार आइ पेट्रोल र सलाइ किनेर जंगलको सडक बाटो पैदल हिड्दै राति पौने १० बजेतिर रेवतीको घरमा पुगेका थिए । जतिखेर रेवतीका आमा छोरी सुतिसकेका थिए । कर्णले ढोका ढकढक पारेपछि रेवतीले को होरु भन्दा कर्णले आवाज दिए । रेवतीले आवाज चिन्नासाथ ढोका खोलिदिइन्। ढोका खोल्नासाथ कर्णले रेवतीको घाँटी न्याके र कपडाले कसे । उनी बेडमै लडेपछि त्यसैमा पेट्रोल छर्केर आगो सल्काइदिए । रेवतीसँगै नौ महिनाकी छोरी ऋतु मस्त निन्द्रामा थिइन् । बेडमा पेट्रोल छर्केर आगो झोसेपछि त्यो दन्कियो । त्यो आगोले नौ महिनाकी ऋतुका साथै उनकी आमाको मृत्यु भएको डिएसपी कार्कीले बताए । घटना घटाएपछि कर्ण नजिकै गाउँमै एक जनाको घरमा बास मागेर बसे । त्यहाँबाट कर्ण बिहान ३ देखि ४ बजेतिर उठेर आफ्नो घरतर्फ लागे ।

हत्या हुँदा रेवतीका श्रीमान रोजगारीको सिलसिलामा छिमेकी देश भारतमा थिए । श्रीमती र छोरीको मृत्युको खबर सुनेपछि तीन दिनपछि मात्रै उनी फर्केका थिए । असोज २ गते उनी आएपछि आमा छोरीको अन्त्येष्टि गरेका थिए ।

कर्णबहादुरको घर रेवतीको भन्दा झन्डै ३२ किलोमिटर टाढा छ। नयाँदृष्टिबाट

सम्बन्धित खवर